काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठनको तयारीमा रहेका दलहरू सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेका छन् ।
टिकटका विषयमा छलफल गर्न कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ११ बजे बोलाइएको छ ।
कांग्रेसले आफ्नो बैठक बस्नु अगाडि राजपा, फोरमलगायत दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
लोकतान्त्रिक गठवन्धननिकट रहेका दलहरूसँग छलफल गर्ने र आजै सिट बाँडफाँट गर्ने गृहकार्य गरिएको एक नेताले बताए ।
कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी छन् ।
सिट बाँडफाँटबारे दुई राप्रपासँग कांग्रेसले छलफल गरेपनि राजपा र संघीय फोरमसँग ठोस छलफल हुन सकेको छैन । फोरम र राजपाले छलफलका लागि बिहीबारको समय मागेकाले यो विषय टुंगिन नसकेको नेताहरुले बताएका छन् ।











प्रतिक्रिया