काठमाडौं, ९ कात्तिक । डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले काठमाडौं क्षेत्र नं. १ ‘क’मा प्रदेश सभाका लागि नारायणी उप्रेतीलाई टिकट दिएको छ ।
अनामनगर, घट्टेकुलो निवासी उप्रेती लामो समयदेखि राजनीति गर्दै आएकी महिला हुन् । उनी एकीकृत राप्रपा (राष्ट्रवादी)को केन्द्रीय सदस्य समेत हुन् ।
तपाई किन प्रदेश सभाको उम्मेदवार बन्नु भएको हो भन्ने प्रश्नको जवाफमा उप्रेतीले भनिन्, ‘पार्टीले निर्णय गरेर प्रदेश सभामा उम्मेदवार बनायो । समाजको सुधार र देशका लागि केही गर्न सकिन्छ कि भनेर म पनि उम्मेदवारी दिन लागेको हुँ ।’
राजसंस्था र हिन्दूराष्ट्रका बारेमा अभियान चलाउँदै आएकी समाजसेवी उप्रेतीले मुलुकको रक्षाका लागि राजसंस्था अनिर्वाय रहेको बताउँछिन् ।
‘नेपालमा राजसंस्था अनिवार्य भएको छ’, उनले भनिन्, ‘मुलुकमा ९० प्रतिशत हिन्दूहरू बसोबास गर्छन् । यस्तो अवस्थामा नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ । मेरो उदेश्य भनेको हिन्दू राष्ट्र बनाउने पनि हो ।’ राजसंस्था र हिन्दू राष्ट्र मुलुकमा आएपछि देशको उन्नती र विकास हुने उप्रेतीको बुझाइ छ ।
उनी विश्व हिन्दू महासंघको केन्द्रीय सदस्य पनि हुन् । उनी बेलाबेला हिन्दूधर्मसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने गरेकी छिन् ।












प्रतिक्रिया