काठमाडौं, ७ कात्तिक । कांग्रेसका नेता तथा भारतका लागि नेपाली निवर्तमान राजदूत दीपकुमार उपाध्यायले नेपालमा हुन गैरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको जानकारी दिए ।
उनले भने, ‘खास गरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नु हुँदैन, आफ्नो अभिभारा नेपाली आफैले लिनुपर्छ, चुनावगर्ने जिम्मेवारी हाम्रो हो ।’
उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको समेत सुनाए । उनले भने, ‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनिऔपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नु हुँदैन् ।’
राजदूत उपाध्यायले २ वर्षे कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर पुनः राजनीतिमै फर्किएको स्पष्ट पारेका छन् ।
उनले भने, ‘म पुनः राजनीतिमा फर्किएको छु, राजदूत भएका बेला पनि म तत्कालीन पार्टी सभापति सुशील कोइराला र तत्कालीन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदूतको भूमिका निर्वाह गरेको हुँ, मैले त्यति वेला पनि फर्कन्छु भनेर नै जानकारी गराएको थिएँ ।’












प्रतिक्रिया