१ कार्तिक २०८३, आइतबार

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई प्रवेशमा कडाइ गरिएको हो ।

महाशाखा र परिषद्ले गत असोज ३१ मा पत्रकार सम्मेलन गरी अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरू सवारी साधनलाई प्रवेशमा कडाइ गर्ने जानकारी दिएको थियो ।

महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले पानी, एम्बुलेन्स, दमकल, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई आजदेखि कडाइ गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता रञ्जीतकारले आजदेखि ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने तथा ठाउँठाउँमा ट्राफिक संकेत राख्ने काम भइरहेको बताउनुभयो ।

ठमेललाई नमूना पर्यटकीय शहरका रुपमा विकास गर्नका लागि आज महाशाखाका प्रमुख सर्वेन्द्र खनाल, परिषद्का अध्यक्ष समीर गुरुङ, महाशाखाका अन्य कर्मचारी र पर्यटन व्यवसायी संयुक्तरुपमा अभियान सञ्चालन गरेका हुन् ।

धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरिएको छ । महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएको छ । ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् ।

महाशाखाले ठमेललाई सवारी साधनमुक्त क्षेत्रका रुपमा विकास गर्न लैनचौर, सोह्रखुट्टे, खुशीबुँलगायतका क्षेत्रमा पार्किङको समेत व्यवस्था गर्न लागेको छ । केही दिनभित्रै ठमेलभित्र जानका लागि अत्यावश्यक सवारी साधनलाई पासको व्यवस्था गरिने महाशाखाले जनाएको छ । रासस