११ मंसिर २०८३, शुक्रबार

विश्वका २८ देशलाई हराउँदै बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । विश्वका २८ देशलाई उछिन्दै बेलायतमा नेपाली सेनाले स्वर्णपदक जितेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलायतको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट कात्तिक ५ गतेसम्म सञ्चालन भएको एक्र्ससाइज क्याव्रियन पेटङोल २०१७ मा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोली असोज १३ गते बेलायततर्फ प्रस्थान गरेको थियो ।

युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ । अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमीटर दूरी पार गर्ने क्रममा सहभागी टोलीकोे लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरू सम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यबस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १११ र नेपाल समेत अन्य २८ देशका गरि कूल १३९ सैन्य टोलीहरूको सहभागिता रहेको थियो । साथै उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो । सो प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिने अन्य राष्ट्रको फौज मध्ये करिब ३३ प्रतिशत सहभागीहरूले सो अभ्यास पूरा गर्न सकेका थिएनन् । मित्रराष्ट्र बेलायतमा सैनिक युद्धकलाहरुमा आधारित क्यामब्रियन पेट्रोल शुरु भएको ५० वर्षभन्दा बढी भईसकेको छ ।

विगतमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्न नेपाली सेना सफल भईरहेको परिप्रेक्ष्यमा यस प्रकारको अत्यन्त व्यवसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्न सक्ने अभ्यासमा सहभागी हुन शुरू गरेको केहि वर्षभित्रै आफूलाई अब्बल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुको साथै मित्रराष्ट्र बेलायत लगायत अन्य सहभागि सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ भएको विश्वास लिदै प्रतियोगिता आयोजना एवं सहभागिताको लागि नेपाली सेनालाई आमन्त्रण गर्ने बेलायती सेना तथा अभ्यासकोे तयारीको दौरान विविध सहयोग पु¥याउने बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज प्रति नेपाली सेनाले धन्यवाद भनेको छ ।