१ कार्तिक २०८३, आइतबार

३० लाखको कृत्रिम फूलको माला बिक्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ५ कात्तिक । स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष रु तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ ।

जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ । जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

‘प्लाष्टिकजन्य कृत्रिम फूलले स्वास्थ्यका लागि हानि गर्छ भन्ने सबैलाई थाहा छ ।’ उनले भने, ‘जिल्लामा प्राकृतिक फूलले नपुग्ने भएपछि रोक लगाउन सकिएको छैन ।’

जिल्लाका मुख्य व्यापारिक केन्द्र दिक्तेल, ऐंसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानीलगायत ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लाष्टिकको फूलको माला नै प्रयोग गरेको पाइन्छ ।

यस वर्षको तिहार अन्य समयभन्दा अगाडि नै परेकाले पनि आफूहरुले रोपेको फूल नफुल्दा कृत्रिम फूलको माला किन्नुपर्ने बाध्यता परेको खरिदकर्ताको भनाइ छ । पछिल्लो समय जिल्लामा सयपत्री फूलमा विभिन्न प्रकारका रोग लागेकाले पनि फूल अभाव भएको पाइएको हो ।

आगामी दिनमा प्राकृतिक फूल अभाव हुन नदिनाका साथै कृत्रिम फूल आयातमा रोक लगाउन जिल्लामा पुष्प व्यवसाय आवश्यक रहेको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘अहिले सबै क्षेत्रमा फूल अभाव देखिएको छ’, उनले भने, ‘आगामी दिनमा नगरपालिकाले पुष्प व्यवसायलाई योजनामै समेटेर व्यावसायिक रुप दिने छ ।’

पुष्प व्यवसाय सञ्चालनका लागि जिल्लाको सबै भूगोल उपयुक्त रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानीलगायत अन्य जिल्लामा निर्यात गरेर आम्दानीको स्रोतसमेत बढाउन सकिने जनाइएको छ । – रासस