काठमाडौं, ३ कात्तिक । एमालेका अध्यक्ष केपी ओलीले नेपाल संवतको नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गर्नुभएको छ । “नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो ।
नेपाल संवत् नेपालको मौलिक संवत् हो”– उहाँले भन्नुभएको छ, “नेपाल संवत्को यो नयाँ वर्ष मनाइरहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।”
शुभकामना सन्देशमा भनिएको छ, “नेपाली संस्कृतिका धनी छौँ । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।”
अध्यक्ष ओलीले सन्देशमा आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पु-याउनुहुनेछ भन्ने विश्वास आफूले लिएको पनि बताउनुभएको छ । – रासस











प्रतिक्रिया