काठमाडौं, ३१ असोज । सरकार छाड्ने नेकपा माओवादी केन्द्रको निर्णय एकाएक फेरिएको छ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन सार्ने सूचना आफूहरुले पाएकाले तत्काल सरकार नछाड्ने स्पष्ट पारेका छन् ।
मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले माओवादी मन्त्रीले सरकार छाड्ने निर्णय हाललाई स्थगित भएको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गराउने भनेर लिखित रुपमा प्रतिबद्धता जनाए आफूहरु सरकार छाड्ने शर्त पनि अघि सारे । ‘यति लिखित रुपमा प्रधानमन्त्रीले हामी निर्वाचन गर्छाै भन्यो भने हामी सरकार छाड्छौं । निर्वाचन सम्पन्न गर्ने कुरा मुख्य कुरा हो । तर, हामी सरकारबाट बाहिरिन तयार छौं,’ उनले भने ।
मन्त्री शर्माले अगाडि भने- ‘पार्टीको तर्फबाट अध्यक्षले सरकारबाट फिर्ता हुने भनेर ड्राफ्ट तयार पारी सहि गर्नै लाग्दा निर्वाचन सारिदैछ भन्ने सूचना आयो, निर्वाचन सार्ने कुरा आइसकेपछि सरकार नछोड्ने निर्णय भयो । निर्वाचन सार्ने षडयन्त्र हुने हो भने सरकार छाड्दैनौं । निर्वाैचन सार्ने त हाम्रो शर्त होइन् । निर्वाचन सार्ने प्रपञ्च भएको भन्ने कुरा आएकाले आजलाई सरकारबाट फिर्ता हुने निर्णय स्थगित भयो । निर्वाचन आयोगमार्फत आएको सूचना हो । निर्वाचन सार्नेगरी आजै कुनै निर्णय हुँदैछन् भन्ने थाहा पाएर निर्वाचन सम्पन्न गर्नका लागि जिम्मेवारी लिएर सरकारमा आएका हामी यो जिम्मेवारी पुरा गर्न पदमै रहिरहने निर्णयमा पुग्यौं ।’












प्रतिक्रिया