काठमाडौं, ३१ असोज । कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्द आफ्नै संगठन (नेपाल प्रहरी)को निर्णयविरुद्ध अदालत पुगेका छन् ।
कञ्चनपुरको शान्ति सुरक्षा कमजोर भएको र आर्थिक हिनामिना समेत गरेको भनेर विवादमा आएका एसपी चन्दले प्रहरी प्रधान कार्यालयले गरेको सरुवा निर्णयविरुद्ध उच्च अदालत दिपायलमा रिट दायर गरेका हुन् । यो नेपाल प्रहरीको इतिहासमा पहिलो घटना हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेवारीमा रहेका एसपी चन्दको गत साता प्रहरी मुख्यालयले सरुवा गरेको थियो । उनको ठाउँमा पठाइएका एसपी डिल्लीराज विष्ट हाजिर हुन कञ्चनपुर पुगे । तर, चन्दले ठाउँ नछाडेपछि अहिलेसम्म पदभार ग्रहण गर्न पाएका छैनन् ।
प्रहरी मुख्यालयले निर्वाचन आयोगसंग स्वीकृति लिएर विष्टलाई रमाना समेत दिइसकेको बेला एसपी चन्द भने आचारसंहिता विपरित भएको आफ्नो सरुवा रोकिपाऊ भन्दै अदालत पुगेका हुन् । चन्दले प्रहरी मुख्यालय र मानव स्रोत विकास प्रशासन उपशाखा काठमाडौंलाई विपक्षी बनाएका छन् । उनले आफ्नो सरुवा नियम विपरित भएको भन्दै अन्तरिम आदेशको माग समेत गरेका छन् ।
चन्दको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत दिपायलका न्यायाधीश वीरेन्द्र कुमार कर्णको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि कात्र्तिक ८ गते बोलाउने निर्णय गर्दै हाललाई रमाना नदिन आदेश दिएको छ ।
प्रहरीले मुख्यालयले विष्टलाई किन पठायो कञ्चनपुर ?
स्रोतका अनुसार एसपी चन्दको कार्यक्षमता कमजोर भएको, आर्थिक रुपमा समेत बिवादमा आएको भन्दै मुख्यालयले उनको सरुवा गरी आगामी मंसिरमा हुने निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउने जिम्मासहित विष्टलाई कञ्चनपुर पठाएको हो ।
चन्द प्रहरी प्रमुख भएको एक वर्षभन्दा बढीको अवधिमा कञ्चनपुरमा आधा दर्जनभन्दा बढी हत्याका घटना भएका छन् भने शान्ति सुरक्षाको स्थिती पनि खस्किएको छ । साथै अहिलेसम्म कुनै घटनाको अनुसन्धानले ठोस तथ्य भेटाउन समेत सकेको छैन् ।
चन्दको कार्यक्षमता कमजोर भएको र शान्ति सुरक्षा नै कमजोर भएको गुनासो आएपछि प्रहरी मुख्यालयले उनको सरुवाको लागि लामो समयअघिदेखी पहल गरेपनि निर्वाचन आयोगको आचारसंहितको कारण उनको सरुवा रोकिएको थियो ।
रोचक कुरा त के छ भने कञ्चनपुर छाड्न नमानेर सरुवाविरुद्ध अदालत पुगेका एसपी चन्द अबको ३ महिनापछि ३० वर्षे सेवाअवधीका कारण अनिवार्य अवकासमा जादैछन् । तर, यो बीचको तीन महिनामा चुनाव लगायत महत्वपूर्ण घटनाहरु हुने भएकाले त्यसमा लाभ लिन उनले कञ्चनपुर छाड्न नचाँहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरनिकट स्रोतको दाबी छ ।
















प्रतिक्रिया