११ मंसिर २०८३, शुक्रबार

एनआरएनको चुनावी हिसाबकिताबः जमुना गुरुङ र भवन भट्टमध्ये कस्ले जित्ला ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शैलेश श्रेष्ठ

एनआरएनएको मुद्दा र बिषयलाई उच्च महत्व र सरोकार राखेर विचार सम्प्रेषण गर्ने एकजना संचारकर्मीको नाताले बिश्व सम्मेलन र यसले चुन्ने नयाँ नेतृत्वका बारेमा पनि मेरो गहिरो अभिरुचि छ तर अहिले देखिएका उम्मेदवारप्रति बिशेष या अतिरिक्त आशक्ति भने छैन । तथापी ;कागलाई बेल पाक्यो हर्ष न विष्मात’ अथवा ‘पाडो पाएनी पाडी पाएनी भतुवालाई बिगौती’ चाँहि भन्दिन । यथेष्ट रुची भएपनि उनीहरुप्रति अतिरिक्त आशक्ति यस कारण छैन कि उनीहरु आम एनआरएन अथवा हामी जस्ता श्रमजीवी वर्गका प्रतिनिधि पात्रहरु होइनन र उनीहरुले हामीलाई प्रतिनिधित्व गर्दैनन् ।

पहिलो कार्यकालमा वर्तमान अध्यक्ष शेष घलेले गरेका थुप्रै काम र शैलीहरुको म एक जना प्रशंसक हुँ तर उनको दोश्रो कार्यकाल नजानिँदो गरि परिवारवादको घेराबन्दीमा पर्यो । आफ्ना र हारेका मान्छेहरुलाई बिधान मिचेर नियुक्ति गर्न थालेपछि उनको उज्यालो छबिमा धिमा धक्का लाग्यो । त्यसैको निरन्तरता र आफ्नो बिरासत जोगाउने पात्रका रुपमा अहिले उनकी धर्मपत्नी जमुना गुरुङलाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ । गुरुङको सामर्थ्य र योग्यतामाथि मलाई कुनै शंका छैन, मेरो कार्यक्रम सम्प्रेषणसँगको अन्तरंग वार्तालापकै क्रममा पनि शेष घलेले जमुना घलेको अशिम योग्यता र क्षमताको बारेका मनबाट बोलेका छन् । उनी शेष घलेकी श्रीमती भन्दा बढी एक जना सक्षम व्यक्तित्व र एनआरएनएका उम्मेदवार हुन । उनलाई एक जना महिला भनेर ‘आरक्षण’ या ‘सहानुभूति’ दिएर कमजोर पारिनुहुन्न । तर जब पध्दतीलाई प्रक्रियाको कसीमा दाँज्नु पर्ने समय आउँछ त्यति बेला जमुना गुरुङको पल्ला अलि हलुङ्गो हुन्छ किनकी उनी आम अरुहरु जस्तो गरी तलबाट माथि अनि निर्वाचित बन्दै अनुमोदित हुँदै आएकी होइनन् । आफ्ना श्रीमानको अनुकम्पाले मनोनित केन्द्रीय सदस्य बनेको त्यो बिशेष सुबिधानै उनको लागि गलगाँड सावित हुने सम्भावना छ । त्यसो भनेर म वर्तमान सिन्डिकेटेड पध्दतिको कुरा वकालत गरिरहेको छैन जहाँ बनिबनाउ संरचना छ जहाँ कुनै चमत्कारिक मान्छेले फट्केर माथिल्लो पदमा जानै सक्दैन । वर्तमान यथास्थितिबादी संरचनामा न बराक ओबामा बन्ने सम्भावना हुन्छ न त डोनाल्ड ट्रम्प जन्मने कल्पनै हुन्छ त्यहाँ त सिर्फ जीबा लामिछाने, भबन भट्ट, कुमार पन्त, बद्री केसी तथा हिक्मत थापाहरु मात्र जन्मिरहन्छ । अहिलेसम्मको बनिबनाउ संरचना नै त्यस्तो छ जहाँ आम एनआरएनको नेतृत्व गर्ने श्रमिक वर्ग त्यो उपल्लो पदमा पुग्न नै सक्दैन अथवा दिईंदैन ।

यस्तो खाले यथास्थितिबादको प्रत्यक्ष फाइदा यो पटक भबन भट्टलाई प्राप्त हुने अधिक सम्भावना छ । उनी यो बनिबनाउ संयन्त्रमा ‘फिट’ हुन्छन त्यो नै पुरातानिक सांगठनिक शैली र अव्यक्त अभिष्ट पनि हो । उनीहरु हामी त संस्थापना कालदेखिका मान्छेहरु हौँ भनेर पछि आएका सक्षम मानिसलाई बन्देज र निषेधको भाषा परोक्षरुपमा बोलिरहेका हुन्छन । नेतृत्वका दृष्टिकोणले प्रारम्भदेखि रसियाका मानिसहरुको दबदबा रहेको यो संगठन पछिल्लो कालखण्डमा बेलायत, यूरोप, जापान र अमेरिका तिर पनि फैलँदो छ तर अत्याधिक जनसंख्या भएको मध्यपुर्बमा मानिसहरु बिरलै संगठनको माथिल्लो हैसियतमा पुग्ने गरेका छन पुगेकाहरु पनि वर्गीयरुपमा उपल्लो वर्गको पक्षपोषण गर्नेहरु छन ।

यसपटक पनि अध्यक्षका आकांक्षी बनेका मध्यपुर्वका टीबी कार्की त्यसका सग्लो उदाहरण हुन । त्यो यथार्थताको धरातलमा तौलने हो भने एनआरएनए आम सदस्यहरुको सच्चा प्रतिनिधि बन्ने सकेन । समग्रमा वर्तमान एनआरएनएले नितान्त सानो हिस्साको मात्र प्रतिनिधित्व गरिरहेको छ ।

राजनैतिक महामारी एनआरएनएको सबभन्दा ठुलो संक्रामक रोग हो त्यो निरन्तर प्राय सबै राष्ट्रिय समन्वय परिषदहरुमा फैलँदो छ । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका त्यसको उद्भव थलो बनेर बिकशित भइरहेको छ भने त्यो महामारी केन्द्रसम्मनै फैलँदो र तन्कँदो छ । ठूला नेताको घर धोका चाहार्ने क्रमबध्द्ता अझै भंग भएको छैन बरु कुनै न कुनै बहानामा बढ्दो छ । संसारभर फैलिएको भात्री संगठनहरुको आशिर्बाद लिने र मनोनयन दर्ता गर्नु अघि पार्टीको टिका लगाउने नयाँ प्रचलन पनि सुरु भएको छ । बैचारिक राजनैतिक आस्थामा विभाजित यो संगठन पछिल्लो समयमा जातियताको नारामा अनुहार र नाकको आकारको आधारमा विभाजित पो हुने हो कि भन्ने नयाँ फोबिया आम एनआरएन र पुराना अभियन्ताहरुको मनमा पसेको छ ।

जमुना गुरुङको उम्मेदवारी मेरो बुझाईमा कुनै अनपेक्षित अनि अप्रत्याशित घटना होइन त्यस्तो छन्द र छनक कमसेकम मैले चाँहि महिनौं अघि पाएको थिएन त्यस्ता केही प्रारम्भिक तयारीका परिदृश्यहरु अमेरिकाको एनसीसीको निर्वाचनताका पनि देखिएकै हो र त्यही मुताविक वर्तमान संस्थापनले डेलिगेट्स छनौटमा यथेष्ट चलखेल गरेको छ । यस खालको दुई ध्रुबिय चुनावी टक्करको सम्भावना उनीहरुको ब्रम्हान्डीय यात्राहरुले पनि स्पष्ट देखाइसकेको थियो । वर्तमान बनिबनाउ सिन्डिकेटेड शेष घले बाहेकको संस्थापन कुनै नयाँ मान्छे संगठनमा आएको हेर्न चाहँदैन । उनीहरुले यस्तो भर्टिकल लिडरशिप फर्मेट बनाएका छन् जहाँ कुनै बनी सक्षम व्यक्ति उनीहरुको कृपा बिना छिर्नै सक्दैनन् । २०१७-१९ मात्र होइन, उनीहरुले २०२१-२३ को नेतृत्वको अहिलेनै परिकल्पना गरिसकेका छन । त्यस्तो चक्रब्युहका एक रचनाकार वर्तमान उपाध्यक्ष जर्मनीका कुमार पन्त हुन जो यसपाली सजिलै गरि त्यही पदमा बहाल रहँदै २०१९-२१ को सर्वस्वीकार्य अध्यक्ष बन्न चाहन्छन । अरु अथवा हामी जस्ता आम श्रमजीवीहरु त के अरबपति सक्षम जमुना गुरुङकै लागि पनि यो बनिबनाउ सिन्डिकेसन तोड्न फलामको च्युरा चपाउनु सरह हुनेछ । मेरो विश्लेषण र अनुमानमा यसपालीको निर्वाचनमा भबन भट्टको पल्लाभारी हुने सम्भावना छ । जमुना गुरुङ पनि उत्तिकै बलियो उम्मेदवार हुन् । त्यसैले भवन र जमुना जस्ले जिते पनि ४० ५० मतले जित हार हुने सम्भावना छ ।

दुई उपाध्यक्ष मध्ये कुमार पन्तले अध्याधिक मतले बिजयी हुनेछन भने अर्को उपाध्यक्षमा बेलायतका कुल आचार्य, अमेरिकाका खगेन्द्र जीसी र अमेरिकाकै सोनाम लामाबीच प्रतिस्पर्धा हुनेछ । पछिल्लो समय अचानक चर्चामा आएकी अमेरिकाको रबिना थापालाई पनि नजरअन्दाज गर्न सकिन्न । एकले अर्कालाई हराउन लागि पारेको अमेरिकाको दुरुह दृश्य हेर्दा त्यसको फाइदा कुल आचार्यले लिए भने हामीले आश्चर्य मान्नु पर्दैन । सांगठनिक कौशल, सम्बन्ध र सम्पर्कको हिसाबले वर्तमान महासचिब डा. बद्री केसी जोखिम मुक्त छन भने वर्तमान कोषाध्यक्ष हिक्मत कार्की अझ बढी सुरक्षित छन् । पहिले आईसीसी सदस्य बन्ने, अनि क्षेत्रीय संयोजक अथवा उपसयोजक हुने त्यसपछि सचिब, कोषाध्यक्ष, महासचिब, उपाध्यक्ष बन्दै अध्यक्ष बन्ने यो बनिबनाउ पुरातानिक सांगठनिक ढांचा र ढर्राले कोही कुनै नयाँ सक्षम मानिसलाई यो अप्ठेरो जन्जाल तोडेर माथी पुग्न दिँदैन । अब यो हाम्रो संगठनमा पनि युग र समयसापेक्ष परिवर्तन र परिमार्जन गर्दै यसलाई एक्काईसौं शताब्दीको उदारवाद र प्रगतिशील संगठनको रुपमा पुनर्परिभाषित गर्नु नितान्त जरुरी छ ।

(गैरआवासीय नेपाली संघ सम्बन्धी निरन्तर विचार तथा चिन्तन सम्प्रेषण गर्ने अमेरिका निवासी संचारकर्मी शैलेश श्रेष्ठ टेलिभिजन कार्यक्रम सम्प्रेषणका प्रस्तोता तथा निर्माता हुन्)