बाजुरा, २८ असोज । जग्गा बाँडफाँडको विषयलाई लिएर दुई जना दाजुभाइको हत्या भएको छ । भने एक जना घाईते भएका छन् । त्रिवेणी नगरपालिका–८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच विवाद भएपछि आक्रोशमा आएर दुई जनाको हत्या गरिएको छ ।
गोरख गिरीका छोरा २० वर्षका योगेन्द्र गिरी र १६ वर्षका दिनेश गिरीले खुँडा, खुकुरी र जिआईपाईपको प्रयोग गरी मोहन गिरीका छोरा ३२ वर्षका अर्जुन गिरी र २७ वर्षका नौले गिरीको हत्या गरेको प्रहरीले बताएको छ ।
अर्का २१ वर्षका छोरा नरेश गिरी गम्भीर घाईते भई फालासैनमा उपचार भईरहेको प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले बताए । बुबा मोहन गिरीको पनि टाढाबाट हानेको ढुंगा लागेर टाउकोमा चोट लागेको बुझीएको छ ।
मोहन गिरी र गोरख गिरी सरोदर दाजुभाइ हुन् । एउटै बाबुका सन्तान उनीहरु बीच विगत देखि जग्गा बाँडफाँडमा कुरा नमिलेकोले पारिवारीक विवाद हुँदै आएको विषयलाई लिएर घटना भएको बुझीएको छ ।
खुकुरी खुँडाको प्रहारबाट गम्भीर चोट लागेका अर्जुन गिरीको उपचारका लागि लिँदै गर्दा बीच बाटोमा मृत्यु भएको थियो । भने नौले गिरीको घटना स्थलमै मृत्यु भएको हो । नौलेका शरिरका अंग समेत अगल बनाएर हतियारले छेदबिच्छेद गरेको बुझीएको छ ।
भनाभन हुँदै गर्दा एकाएक खुँडा, खुकुरी ल्याएर प्रहार गरेको बुझ्नमा आएको छ । हत्यामा संलग्न बुबा गोरख गिरी, छोराहरु योगेन्द्र गिरी, दिनेश गिरी र गणेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । गणेश विहान फरार रहेका थिए । उनलाई बडिमालिका नगरपालिकाको रापकबाट नियन्त्रणमा लिएको छ ।
बंश नै नाश गर्ने गरी सिंगो परिवारको नै हत्या गर्ने योजना सहित घटना घटाईएको हुन सक्ने अनुमान गरिएको छ । दुबै दाजुभाइका घरपनि सँगै जोडिएका छन् । घटना शनिबार विहान ७ः २० बजेतिर भएको थियो ।
यतिबेला प्रहरी टोली घटना स्थलमा रहेको छ । एक टोलीले संलग्नहरुलाई समातेर मार्तडी आएको छ । भने अर्को टोलीले घटना बारे अध्ययन गरिरहेको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले बताए ।
स्रोतका अनुसार परिवारबीच जमिनसँगै एकअर्का बीचको अनैतिक सम्बन्ध समेत रहेको दाबी छ । तर त्यसबारे प्रहरीले अनुसन्धान नभई केही भन्न नसकिने बताएको छ । दुबै परिवार जग्गा र पारिवारीक अनैतिक सम्बन्धको विषय सहीत उजुरी प्रक्रियामा समेत गएका थिए ।












प्रतिक्रिया