११ मंसिर २०८३, शुक्रबार

स्वास्थ्य चौकीमा सिटामोल छैन, बिरामी रित्तो हात फर्किन बाध्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, २८ असोज । सामान्य विरामी परेर स्वास्थ्य चौकीमा उपचार गराउन आउने विरामी यतिबेला रित्तो हात फर्किरहेका छन् । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १, स्थित शिवपुर स्वास्थ्य चौकीमा आउने विरामी औषधि अभावले रित्तो हात फर्किन बाध्य भएका हुन् ।

करीब दुई सातादिनदेखि स्वास्थ्य चौकीमा सामान्य औषधि सिटामोल समेत छैन । औषधि अभावले उपचारका लागि आउने सर्वसाधारण मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि सर्वधारण महँगो रकम खर्चेर प्राइभेट क्लिनिकमा उपचार गर्न बाध्य छन् ।

“अहिले क्षय रोगीको औषधि बाहेक स्वास्थ्य चौकीमा कुनै पनि औषधि छैन ।” शिवपुर स्वास्थ्य चौकी इन्चार्ज बेदप्रसाद भण्डारीले भन्नुभयो– “औषधि नहुँदा उपचारका लागि आउने विरामीलाई खाली हात फर्काउन बाध्य छौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अहिले सम्पूर्ण अधिकार स्थानीय निकायलाई नै जिम्मा लगाएको छ । स्थानीय निकायबाट औषधि खरीदको लागि अझैसम्म टेण्डर समेत नहुँदा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो ।”

कपिलवस्तु शिवराज नगरपालिका १ धानखोलाबाट उपचारका लागि शिवपुर स्वास्थ्य चौकी पुगेका एक विरामी औषधि नहुँदा निरास भएर फर्केको दुखेसो गर्नुभयो । विद्यालयमा प्राथमिक उपचारका लागि स्वास्थ्य चौकीमा औषधि लिन आएका सरस्वती आधारभूत विद्यालय शिवपुरका शिक्षक पनि रित्तो हात फर्केको बताउनुभयो ।

सामान्य ज्वरो, टाउको दुखेकोे औषधि समेत नपाउँदा सेवाग्राही मर्कामा परेको गुनासो गर्दै आएका छन् । यतिमात्र होइन स्वास्थ्य चौकीमा गर्भवती र सुत्केरीले खाने आइरन चक्की समेत छैन । आइरन चक्की समेत नहुँदा सुत्केरी र गर्भवती महिला झनै मारमा परेका छन् ।

यो शिवपुर स्वास्थ्य चौकीको समस्या मात्र होइन । जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । रकम खर्चेर औषधि उपचार गराउन नसक्ने सर्वसाधारण स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा निकै मार खेप्नुपरेको बताउँछन् ।

सरकारले ७० प्रकारका औषधि स्वास्थ्य चौकीबाट सर्वसाधारणलाई निःशुल्क वितरण गर्ने भनेपनि यहाँका स्वास्थ्य चौकीमा कुनै पनि औषधि पाइएको छैन ।