२ कार्तिक २०८३, सोमबार

राणा समूहबाट ‘निष्काशित’ एसएलसी पास सिंहलाई विद्यार्थी संयोजक बनाउँदा राप्रपामा खैलाबैला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । पशुपति सम्शेर राणा (राप्रपा प्रजातान्त्रिक) समूहबाट निष्काशित महेश सिंहलाई विद्यार्थी संगठनको संयोजकको जिम्मेवारी दिएपछि कमल थापा नेतृत्वको राप्रपामा असन्तुष्टि चुलिएको छ ।

राणा समूहले निष्काशित गरेपछि पार्टीमा फर्किएका सिंहलाई अध्यक्ष कमल थापाले आगामी कात्तिक महिनाभित्र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविस)को महाधिवेशन गरिसक्नुपर्ने गरी विद्यार्थी महाधिवेशन तयारी समितिको संयोजक तोकेपछि सिनियर विद्यार्थी नेताहरु असन्तुष्ट बनेका हुन् ।

पार्टी स्रोतका अनुसार प्लस टु पास नगरेका विद्यार्थी सिंहलाई संयोजक बनाएपछि पूराना तथा अनुभवी विद्यार्थी नेताहरु कमल ज्ञवाली, ऋषिकेश न्यौपाने, केशव गिरी, पूर्ण चौलागाई लगायत थापा निकट विद्यार्थी संगठनका पूराना विद्यार्थीहरुले संगठनलाई केटाकेटीहरुको जिम्मा लगाएको भन्दै तीब्र असन्तुष्टि तथा आलोचना गरेका छन् ।

विद्यार्थी संगठनमा एउटा शैक्षिक योग्यता तथा अनुभवलाई कदर नगरेको भन्दै पूराना विद्यार्थी नेताहरुले पार्टी परित्याग गर्ने सम्मको छलफलमा जुटेको बुझिएको छ । अहिले संयोजक तोकिएका सिंह आइएड अध्ययन पनि नसकेर पढाईलाई त्याग गरेका व्यक्ति हुन । सिंहले हिजो नै प्रदेशका संयोजकहरु पनि तोकेका छन् । त्यसमा अधिकांश व्यक्तिहरुको शैक्षिक योग्यता एसएलसी पास मात्र छन् । जसले गर्दा उक्त पार्टीभित्र बिवाद चुलिएको छ ।

जसमध्ये विगत १२ वर्ष देखि विद्यार्थी संगठनमा नेतृत्व गर्दै आएका नेताहरु पूर्ण चौलागाई जापान भ्रमण गएका छन् भने ऋषि न्यौपाने स्याङजा जिल्लामा व्यस्त छन् । साथै कमल ज्ञवाली आफ्नै काममा व्यक्त छन् भने केशव गिरी उक्त निर्णय देखि विरक्त भएको पार्टी स्रोतले जनाएको छ । यो निर्णयले पार्टीको अन्य संयोजित संगठनका नेताहरुले पनि तीब्र आलोचना गर्दै आएका छन् । असन्तुष्ट नेताहरुले पार्टी छाड्नेसम्मको मनस्थिती बनाएको स्रोतको दाबी छ ।