काठमाडौं, २५ असोज । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाएर बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको उहाँले प्रष्ट पार्नुभयो ।
नेपालको व्यापारको अवस्था कहाली लाग्दो अवस्थामा रहेको भन्दै उहाँले भन्नुभयो –‘हामीले व्यापार गर्न नै जानेनौं, अलिक बढी मेहनत गरेर घरेलु उत्पादनलाई उच्च गुणस्तरीय बनाउन सक्यौं भने अन्तराष्ट्रिय बजारका लागि हाम्रा प्रतिष्पर्धी नै कोही हुने छैनन्, यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्नुका साथै चुलिंदै गएको व्यापार घाटा कम गर्न सकिनेछ ।’
घरेलु तथा साना उद्योग फष्टाउनका लागि पहिलो शर्त गुणस्तर र त्यसपछि परिमाण भएको भन्दै उहाँले भन्नुभयो –‘अब यस्ता उद्योगहरूलाई समूहगत रूपमा विकास गर्दै लैजानुपर्छ सहकारीको माध्यमबाट, अब मुलुकका लागि बचत तथा ऋण सहकारी होइन हस्तकला, घरेलु उद्योग जस्ता विषयगत सहकारीको अवधारणा विकास गर्नुपर्छ ।’
छिट्टै नाफा कमाउने लोभमा कम गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ लाग्दा नेपाली ब्राण्ड नै विग्रँदै गएकोे भन्दै मन्त्री विश्वकर्माले भन्नुभयो छिटो नाफा कमाउने लोभमा हाम्रा ब्राण्डहरू चिया, अदुवा, पश्मिना, सुपारीलगायतका ब्राण्डलाई छिमेकी मुलुकबाट ल्याएर निर्यात गर्ने प्रवृतिले विगा-यौं धन्य अलैंची भने छिमेकी मुलुकमा नपाईने भएकाले बचेको छ ।’
नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन समय सुहाउँदो प्रविधि र सीपको विकास हुनुपर्नेमा पनि मन्त्री विश्वकर्माको जोड थियो ।
वाणिज्यराज्यमन्त्री नरबहादुर चन्दले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिंदै विदेशमा उहाँले बताउनुभयो । स्वदेशी मौलिक उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्ने उद्देश्यका साथ वाणिज्य मन्त्रालयको स्थापना भएको भन्दै मन्त्री चन्दले घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्घन र विकास गर्ने मुख्य दायित्व मन्त्रालयको भएको प्रष्ट पार्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताउनुभयो ।
संख्यात्मक हिसाबले पनि कम हँुदै तीन लाख २० हजार उद्योगमध्ये अहिले एक लाख ९५ हजार यस्ता उद्योगहरू सञ्चालनमा रहेको जानकारी दिंदै उहाँले लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिनुभयो । नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघ समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो ।
महासंघका अध्यक्ष गिरीले वित्तीय र प्रविधि पहुँच नै लघु, घरेलु तथा साना उद्योगहरूका मुख्य चुनौतिको रूपमा रहेको भन्दै भन्नुभयो– ‘मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला ठूला लगानीमा रूचि देखाउँछन भने ग्रमीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले गरिबी निवारणका लागि सघाउँदै आएका छन् लघु, घरेलु तथा साना उद्योगलाई सम्बोधन हुन सकेन ।’
लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उहाँले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासंघको प्रतिनिधिमण्डलमा महासंघका पूर्व अध्यक्षहरू वासुदेव गिरी, लता प्याकुरेल, सुरेश प्रधान, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया