कञ्चनपुर, २४ असोज । आसन्न प्रदेशसभा चुनावमा लड्न शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित वैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धराज भट्टले शिक्षण पेसाबाट राजीनामा दिएका छन् ।
भट्ट प्रदेशसभा सदस्य चुनावका लागि कञ्चनपुर क्षेत्र नं २ को प्रदेश नं ३ को (क) लागि नेपाली कांग्रेसको उम्मेदवारमा सिफारिस भएका छन् । करिव साढे २ दशकदेखि शिक्षण पेशामा आवद्ध भट्टले सोमबार विद्यालय व्यवस्थापन समितिमार्फत् जिल्ला शिक्षा कार्यालय कञ्चनपुरलाई राजीनामा पेश गरेका हुन् ।
विक्रम सम्वत् २०५० सालमा धर्म जनता मावि स्टेसनपुरबाट स्थायी सेवाको शिक्षण पेशा प्रवेश गरेका भट्टले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, समाजसेवीसँग छलफल गरेर समाज सेवा गर्ने भन्दै राजीनामा दिएको जनाइएको छ । भट्ट २०५३ कात्तिक महिनादेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सेवा अवधि अझैं १५ वर्ष हुँदाहुँदै भट्टले शिक्षक पेशाबाट राजीनामा दिएका छन् । शुक्लाफाँटा नगरपालिका–७ र १० मा बसोबास गर्दै आएका भट्ट नेपाल शिक्षक संघ कञ्चनपुरका पूर्वसभापति एवम् नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष हुन् । शिक्षकको पेशागत हकहितका लागि योगदान गरेका भट्टले आफ्नो पेशागत जीवनकालमा सहयोग पु¥याउने शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय कञ्चनपुर, स्रोतकेन्द्र झलारी, विद्यालय व्यवस्थापन समिति, विद्यालयका अभिभावक र शिक्षक कर्मचारीलाई राजीनामा विशेष धन्यवाद दिएका छन् ।
‘अब समाजसेवा सँगसँगै राजनीतिमा पनि सक्रिय हुन्छु,’ भट्टले भने, ‘आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको चुनावमा उम्मेदवार बन्ने तयारी छ ।’ कञ्चनपुरको प्रदेश क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यका लागि कागे्रसले भट्टलाई सिफारिस गरेको छ । शिक्षक भट्ट निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको राजनितिक सल्लाहाकार समेत रहेका थिए ।












प्रतिक्रिया