२१ कार्तिक २०८३, शनिबार

साना पार्टीले पनि गठबन्धन बनाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज (रासस) । ‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् ।

गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम अधिकार मञ्च रहेका छन् ।

उनीहरुले एउटै चुनाव चिह्न लिएर सातवटै प्रदेशमा प्रदेश र सङ्घको निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले जानकारी दिनुभयो । उहाँले नेपालको संविधान उत्पीडित जनताको पक्षमा नरहेकाले निर्वाचनमा विजय भएपछि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राज्यबाट पाउनुपर्ने अधिकारबाट वञ्चित तथा बहिष्करणमा परेका र पहुँच नपुगेकालाई मात्र आरक्षणको व्यवस्था हुनुपर्ने औँल्याउनुभयो ।

संयुक्त मुस्लिम अधिकार मञ्च नेपालका अध्यक्ष शोवराती मंसुरले देशको कूल जनसङ्ख्याको एक तिहाइ भएको जनतालाई संविधानमा उपेक्षा गरिएकाले यसको संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले हामी सबैले स्वीकार्न सक्ने संविधान निर्माण गर्न अझै धेरै लड्नुपर्ने बताउनुभयो ।

नेपाल दलित पार्टीका अध्यक्ष मेघबहादुर कामीले देशका ६० लाख दलितसहित आदिवासी, जनजाति, महिला तथा उत्पीडित जनताले अझै अधिकार नपाएकाले सबै एक भएर निर्वाचनमा होमिएको बताउँदै यदि यो सरकारले चुनाव गरेन भने आफूहरु आन्दोलनमा जाने बताउनुभयो ।