
काठमाडौँ, २२ असोज । नेपालका कम्युनिष्ट नेताहरुले चक्मा दिएपछि भारतलाई नराम्रोसँग झट्का लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको मुखैमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकताले भारतलाई नराम्रोसँग झस्काइदिएको हो । सत्तारुढ माओवादी, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र नयाँ शक्तिबीचको एकताले भारत सशंकित भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आगामी साता हुन लागेको आफ्नो राजकीय नेपाल भ्रमण रद्द गरिसकेका छन् भने छिट्टै मोदीका दूत नेपाल आउने बताइएको छ । भारतले आफ्ना दूतका रुपमा बिभिन्न व्यक्तिलाई बिभिन्न आवरणमा पटकपटक पठाउने गरेको छ ।
नेपालमा कम्युनिष्टहरुबीचको तालमेलको बारेमा सुइँको समेत पाउन नसकेको भन्दै भारतीय प्रधानमन्त्री मोदी र विदेश मन्त्रालयले नेपालस्थित भारतीय राजदूत रञ्जिय रायसँग मौखिक स्पष्टीकरण लिइसकेको स्रोतको दाबी छ । यसले गर्दा पनि भारतीय दूतावासका प्रतिनिधिहरुले कहिले प्रधानमन्त्री शेरबहादुर देउवा, कहिले काँग्रेसकै नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिसँग गोप्य भेटवार्ता गरिरहेका छन् । काँग्रेस, मधेशी दलसँग पनि बाक्लै भेटवार्ताहरु भइरहेको बताइएको छ । वृहत लोकतान्त्रिक गठबन्धन बनाउन समेत भारतीय सदिच्छा रहेको स्रोतको दाबी छ ।
एमाले, माओवादी र नयाँ शक्तिबीचको तालमेल र पार्टी एकता भाँड्न नेपालस्थित भारतीय गुप्तचर संस्था रअका प्रमुख विवेक जोइली सक्रिय बनेका छन् । भारतीय दूतावासको ब्युरोक्रेसीले एमाले, माओवादी र नयाँ शक्तिका दोस्रो तहका नेताहरुलाई पटकपटक भेट्न खोजेको बताइएको छ । यही बीचमा एमाले र माओवादीलाई मिलाउन मुख्य भूमिका खेलेका गृहमन्त्री जनार्दन शर्मालाई समेत भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिहरुले भेटेको स्रोतले बतायो । एमालेसँग माओवादीको गठबन्धन टुटाएर देउवा सरकार बनाउन भारतीय भूमिका रहेको यसअघि नै छताछुल्ल भइसकेको छ । त्यही भएर पनि सत्तारुढ कित्ताबाट माओवादी प्रतिपक्षी एमालेसँग मिल्न जानुलाई भारतले रुचाएको छैन् ।
खासगरि, नेपाली काँग्रेस र प्रो-इन्डियनहरुले तीन दलबीचको हात चीनले जोडिदिएको आरोप लगाउँदै भारतलाई थप उक्साइदिएका छन् । भारतले शंका र प्रतिष्ठाको विषय बनाइरहँदा एमाले, माओवादी र नयाँ शक्तिका नेताहरु भने वाम गठबन्धन कसैको विरुद्धमा नभएको प्रष्टीकरण दिइरहेका छन् । तालमेलको औपचारिक घोषणाकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले त स्पष्टसँगै यो कुरालाई उठाएका थिए । विश्वमा कम्युनिष्ट पार्टीहरु असफल भइरहँदा नेपालका कम्युनिष्ट पार्टीहरुप्रति देखिएको आकर्षण र एकताले पश्चिमा शक्तिलाई पनि सशंकित बनाएको छ । विदेशी चलखेल तीव्र बनिरहँदा गठबन्धनका नेताहरु यतिबेला सिट बाँडफाँट र चुनावी घोषणापत्र लेख्न व्यस्त छन् ।















प्रतिक्रिया