काठमाडौं, २० असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकताको सहमति भएसँगै भातृ संगठनहरुबीच पनि एकता प्रक्रिया सुरु भएको छ । खासगरी युवा र विद्यार्थी संगठनले वाम एकतालाई स्वागत गर्दै सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन् ।
शुक्रबार एमाले निकट युवा संघ नेपाल, माओवादी केन्द्रको वाईसीएल र नयाँ शक्तिको युवा अभियानबीच सहकार्य गरेर अघि बढ्ने समझदारी भएको हो ।

युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरमा वाईसीएल अध्यक्ष दिपशिखा, नयाँशक्ति युवा अभियानका संयोजक कमल शाही र युवा संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा आज बसेको बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको ६ बुँदे सहमतिलाई स्वागत गर्दै आगामी दिनमा ३ संगठनको बीचमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको युवा संघका महासचिव किरण पोखरेलले जानकारी दिए ।
विद्यार्थी संगठनहरुको साथ, एकीकृत हुने घोषणा
यस्तै, तीन पार्टीबीच भएको वाम एकताको विद्यार्थीहरुले पनि स्वागत गरेका छन् । एमाले सम्बद्ध अनेरास्ववियु, माओवादी सम्बद्ध अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त वक्तव्य जारी गरी माउ पार्टीको चुनावी तालमेल र एकीकरण प्रक्रियालाई स्वागत गरेका हुन् ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले विज्ञप्ति मार्फत एकता प्रक्रियामा आफूहरु पनि सहभागी हुने बताएका हुन् ।
पार्टीहरुबीचको चुनावी तालमेललाई साथ दिने र पार्टी एकीकरणमा सघाउँदै विद्यार्थी संगठन पनि एकीकृत हुने गरि अघि बढिएको अनेरास्ववियुका सचिव सुदेश पराजु्लीले बताए ।











प्रतिक्रिया