काठमाडौं, २० असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले सरकारको नेतृत्व हत्याउन ठूलो कसरत गरेको खुलासा गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले बहमुत नपुग्ने अवस्था रहेकाले वामपन्थी गठबन्धनले सरकारको नेतृत्व लिन नसकेको दाबी गरे ।
‘एमाले–माओवादी केन्द्रको बामपन्थी गठबन्धनले सरकारको नेतृत्व लिन भित्रभित्र ठूलो चलखेल गरेका छन्’, उनले भने, ‘संख्या नपुगेका कारण चुप बाहिर कुरा नल्याउनु भएको हो । उपेन्द्र यादवसहितका नेताहरूसँग सरकार बनाउनेबारेमा कुराकानी चलाइ रहेका छन् ।’
कांग्रेस नेता खड्काले प्रधानमन्त्रीले आफ्नो विवेक प्रयोग गरेर माओवादी केन्द्रका मन्त्रीहरूलाई हटाउने तयारी गरिरहेको बताए ।
‘माओवादी केन्द्रले आज नै सुझवुझसहित आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदा राम्रो हुन्छ’, उनले भने, ‘अन्यथा प्रधानमन्त्रीले आफै कदम चाल्नुपर्ने अवस्था आउँछ ।’
सरकारमा बसेर प्रमुख विपक्षी दल एमालेसँग गठबन्धन बनाएकोमा आक्रोशित देखिएका नेता खड्काले भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषदमा कुनै पनि निर्णय गर्दा अफ्ठेरो अवस्था आउन सक्छ । त्यसकारण पनि माओवादी मन्त्रीलाई बर्खास्त गर्नु अनिर्वाय भइसकेको छ ।’











प्रतिक्रिया