– सुदीप अधिकारी
बर्दिया, १८ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले जिल्ला कमिटी बर्दियाले सर्वसम्मतबाट सिफारिस गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मतबाट गौतमको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेका कुनै पनि आकांक्षी नभएकोले गौतमको नाम सर्वसम्मतबाट सिफारिसे गरिएको पार्टी अध्यक्ष हरी ज्ञवालीले बताए । क्षेत्रिय कमिटिले १ जना महिला सहित ३ जनाको नाम सिफारिस गर्ने एमालेको नीति भएता पनि क्षेत्र नं. १ बाट बामदेव गौतमको नाम मात्र सिफारिस गरेको थियो ।
दोस्रो संविधान सभा निर्वाचनमा बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वाचित भएका गौतमले प्युठान रोजेर बर्दिया छाडेका थिए । यसपटकको संघको निर्वाचनमा कार्यकर्ताले बामदेवलाई बर्दियाबाटै चुनाव लड्न दवाव दिदैँ आएका थिए ।
यसैगरि नेकपा एमालेले संघको निर्वाचनका लागि क्षेत्र नं. २ बाट पंकज राठौंर, लोकमणी आत्रेय र लिला रानाको नाम सिफारिस गरिएको जिल्ला कमिटि सचिव शालिकराम अधिकारीले बताए ।













प्रतिक्रिया