– विजय थापा
वाशिंटन डिसी, १५ असोज । नेपालीहरुको ठूलो चाडपर्व दशैं अमेरिकामा पनि टिका लगाई मनाइएको छ । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका हुन् । टीका ग्रहण गर्ने क्रम भने जारी छ ।
नेपालमा ११ बजेर ५५ मिनेट को शुभ साईत रहेता पनि अमेरिकामा रहेका नेपाली पुरोहित/पण्डित हरुले फरक फरक टीकाको शुभ साइत बताएका थिए । ८ :४५ मिनेट देखि ११:४५ सम्म तथा ९ :१५ देखि ११ बजे सम्मको पनि शुभ साईत भएको बताएका थिए । अमेरिकामा टीकाको चहल पहल १० बजे देखि सुरु भै मान्यजनका घरमा गै आशिर्बाद लिएका थिए।
यस बर्षको दशैं शनिबार परेकोले नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति, परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे । अमेरिकामा नेपाली सङ्घ /संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि सजिलो भएको छ ।
बडा दशैको दिन मासुका विभिन्न परिकारमा पक्कु, भुटेको भुडी, कलेजो, रक्ती, भित्र्यास, काक्राको खल्पी, कालो मासको दाल, तामाबोडी, सेलरोटी, केराको बुङ्गोको अचार, नेपाली शैलीका अचार तथा चिउरा आदि ईत्यादी समेत आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन्।
पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका अधिकांश रातो फरिया तथा सुनका गहना सहित सजिएका थिए।
अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरुले टिका जमरा र सौगत स्वरुप खाम भित्र पैसा प्राप्त गर्दा प्रफुल्ल भै रमाएका थिए । यसै गरि मनोरंजन को लागि तास पनि खेलेका थिए ।























प्रतिक्रिया