शान्ति अधिकारी, एमाले नेतृ तथा पूर्वसांसद । अझै थप परिचय दिँदा, पहिलो कम्युनिस्ट प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी छोराबुहारी । ०५१ मा बनेको एमाले नेतृत्वको ९ महिने अल्पमतको सरकारबाट लोकप्रियता कमाएका तत्कालीन प्रधानमन्त्री अधिकारीसँग बुहारी शान्तिको पारिवारिक संगत करिब १७ वर्ष रह्यो । ०५६ वैशाखमा निधन भएका ससुरा मनमोहनलाई शान्तिले नजिकबाट अनुभव गरिन् । नयाँ पत्रिकाका शुरोजंग पाण्डेसँग उनले मनमोहनलाई स्मरण गरेकी छिन् :
आफ्नो कामका कारण अरूलाई दुःख दिनुहुन्नथ्यो
०५१ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले हामीमाझ बारम्बार भन्नुभयो– मैले कहिल्यै प्रधानमन्त्री या मन्त्री बनौँला भनेर राजनीति गरिनँ । पद नै मेरा लागि ठूलो थियो भने त १५ वर्षअघि नै प्रधानमन्त्री बनिसक्थेँ । त्यतिवेला अहिलेभन्दा धेरै जोस–जाँगर पनि थियो ।
०५१ मा पनि उहाँले गठबन्धन सरकारको होइन, अल्पमतकै भए पनि पार्टी नेतृत्वको एकल सरकारको मात्रै प्रधानमन्त्री बन्ने अडान राख्नुभयो । विश्वासको मत फिर्ता भएको स्थितिमा पनि पदमा टिकिइरहने उद्देश्यले अहिले अरूले गरेजस्तो खिचडी सरकारका लागि कुनै कसरत गर्नुभएन । उहाँ असाध्यै सादा र सरल जीवन मन पराउनुहुन्थ्यो । खानेकुरामा पनि कहिल्यै ‘कम्प्लेन’ नगर्नेे, मीठो खाना पाए हुन्थ्यो कहिल्यै नभन्ने स्वभाव थियो । तर, २–४ दिनदेखि १ हप्ताको बीचमा मासु खान मन पराउनुहुन्थ्यो । तरकारीमा नुन लाग्यो कि लागेन, भान्सामा मीठो भयो कि भएन भन्नेजस्ता शब्द मैले कहिल्यै सुनिनँ । यद्यपि, औसत मान्छेजस्तै उहाँ सधैँ आमा (सासु) साथमा रहून् भन्ने चाहनुहुन्थ्यो । कहिलेकाहीँ माइतबाट आमा घर आउन २–४ घण्टा ढिलो हुँदा आफैँ फोन गर्नुहुन्थ्यो । हामीलाई फोन गर्न अह्राउनुहुन्थ्यो । हामीलाई लाग्थ्यो– बाबाले आमालाई धेरै ‘मिस’ गरिरहनुहुन्छ । केटाकेटीलाई पनि असाध्यै माया गर्ने उहाँको स्वभाव थियो ।
मनमोहन सरलताको प्रतीक हो । सकेसम्म आफ्ना लुगा आफैँ धुने उहाँको स्वभाव थियो । यहाँसम्म कि प्रधानमन्त्री भएका वेलासमेत बालुवाटारमै आफ्ना भित्री बस्त्र (शरीरका भित्री लुगा) आफैँले धुनुभयो । आमाले कहिल्यै धुने कष्ट गर्नुपरेन । बिहान २–३ बजे उठेर नियमित १ घण्टा योग गर्नुहुन्थ्यो । सधैँ आफैँ चिया बनाएर खानुहुन्थ्यो, आमालाई पनि खुवाउनुहुन्थ्यो । स्वावलम्बी स्वभावको उहाँमा कहिल्यै ‘बडप्पन’ थिएन । गाडी चढ्न थालेपछि उहाँले कहिल्यै ड्राइभरलाई झोला बोकाउनुभएन । ड्राइभरलाई यति सम्मान गर्नुहुन्थ्यो कि उसलाई नदिएसम्म आफू कहिल्यै केही खानेकुरा खानुहुन्थेन ।
जब घरबेटीले डेरा छाड्न भने
मेरो विवाह भएको केही वर्ष स–परिवार हामी विराटनगरमै बस्यौँ । यो ०४४ तिरको प्रसंग हो । काठमाडौंमा घर थिएन । दुःख, कष्टसाथ जीवनयापन गथ्र्यौं । भूमिगत कम्युनिस्ट नेताको परिवारले पनि अनेकन् कष्ट व्यहोर्नुपर्ने रहेछ । मेरो विवाह गर्ने वेला कोठा नपाएर उहाँहरूलाई आपत् परेछ । बाबाका कारण विराटनगरमा कोही पनि घरबेटीले भाडामा कोठा दिनै मानेनछन् । कोठा नभेटिएपछि उहाँ (मेरा श्रीमान्, डा. प्रकाश अधिकारी)ले झुक्याएर कोठा लिनुभएको रहेछ ।
साथीका लागि भनेर कोठा भाडामा लिनुभएछ । त्यही कोठामा मलाई उहाँहरूले भित्र्याउनुभयो । तर, विवाह हुने भएपछि घरबेटीलाई निम्तो नदिँदा असामाजिक भइने चिन्ता । यस्तै द्विविधाबीच विवाहको कार्ड दिनेबितिक्कै घरबेटीले नेताको छोरा, प्रशासनले दुःख दिन्छ, भन्दै भोलिपल्टै कोठा छाड्न भनेछन् । कोठा भाडाको दुःखले लगत्तै हाम्रो परिवारले काठमाडौंको हात्तीगौँडामा जग्गा किनेर घर बनाउने तयारी थाल्यो । तर, घर निर्माण नभएसम्म त भाडामै बस्नुपर्यो । पायक पर्ने नजिककै ठाउँमा भाडामा बस्न थालियो । तर, ती घरबेटी पनि सेनासँग काम गर्ने कर्मचारी रहेछन् । सिआइडीले पछ्याएर दुःख दिन्छ भन्दै उनले छिटो घर छाड्न दबाब दिँदै गए । दुई कोठाको सानो घर बनेलगत्तैे हामी आफ्नै घरमा सर्यौँ । बाबालाई त्यहीँ राखेर हामी (म र श्रीमान्) छात्रवृत्तिमा अध्ययनका लागि बेल्जियम गयौँ । पछि ती घरबेटीले हाम्रै कारण सरकारी जागिर गयो भन्ने गम्भीर आरोप पनि लगाए ।
संसदीय दलको नेता हुनुअघि उहाँ ट्याक्सीमा होइन, बसमै झुन्डिएर एअरपोर्टसम्म आवत–जावत गर्नुहुन्थ्यो । गाडी माग्ने, ‘लिफ्ट’ लिने सोच उहाँमा कहिल्यै आएन । के अहिले कुनै ठूला पार्टीका नेता त्यसैगरी झुन्डिएर यात्रा गर्न सक्लान् ?
सिपी मैनालीले गाली गर्दाको क्षण
बाबा प्रतिपक्षी दलको नेता भइसकेपछि हामी सरकारले महाराजगन्जमा उपलब्ध गराएको भरत गुरुङको घरमा बस्न थाल्यौँ । पछि दलको नेताको हैसियतमा शेरबहादुर देउवा पनि त्यहीँ बस्नुभएको थियो । सरकारले घर उपलब्ध गराए पनि फर्निचरलगायत सामग्री उपलब्ध गराएन । दलको नेतालाई सरकारी गाडी सुविधा त दिएको थियो, तर त्यसबाहेक अरू केही पनि दिइएन । उहाँलाई भेट्न त्यही घरमा थुप्रै विदेशी, पाहुना, नेता–कार्यकर्ताको घुइँचो लाग्थ्यो ।

एक दिन पार्टी नेता सिपी मैनालीले मलाई भेटेर गाली गर्नुभयो, ‘दलको नेता बस्ने घरमा सिम्पल फर्निचर पनि नराख्ने, राम्रो पर्दा पनि नहाल्ने । के प्रतिपक्षी दलको नेताको बेइज्जत देशकै बेइज्जत होइन ? पार्टीको बेइज्जत हुँदैन ? छोरा–बुहारीले कमसे कम ‘मेन्टेन’ गर्नुस् ।’ तर, त्यतिवेला श्रीमान्ले प्राध्यापनबाट कमाउने आम्दानीबाहेक अरू खासै आयस्रोत थिएन । बाबा (मनमोहन)ले घरमा अभाव छ भन्ने कहिल्यै सोच्नुहुन्नथ्यो । घरमा समस्या छ, नातिनातिना कहाँ पढेका होलान् भन्ने पनि उहाँको दिमागमा कहिल्यै आएनजस्तो लाग्छ । न त यसबारे खुलेरै गफ हुन्थ्यो । राजनीतिक गफबाहेक उहाँ घरायसी कुरा गर्न खासै रुचाउनुहुन्नथ्यो ।
बालुवाटारमा बोको बलि दिँदा हंगामा
०५१ मा उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुँदा हामी हात्तीगौँडास्थित दुईकोठे घरमै बस्थ्यौँ । घरसम्म गाडी पुग्ने बाटो बनिसकेको थिएन । उहाँ निर्वाचित हुने हो कि होइन, एक हप्तासम्म संशयकै अवस्था थियो । तर, अन्ततः उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । बाटो नभएको साँघुरो घर भएकाले सुरक्षार्थ खटिएका सेना–प्रहरीलाई पनि अप्ठ्यारो भयो । उहाँहरू नजिकैको अर्कैको खाली जग्गामा दुई दिनसम्म टेन्ट गाडेर सुरक्षार्थ खटिनुभयो । घरअगाडिसम्म गाडी नआउने भएकाले निर्वाचित भएपछि उहाँ अलि तलैबाट घरसम्म हिँडेर आउनुभयो । पार्टी कार्यकर्ता, टोलका शुभचिन्तकहरू उहाँलाई लिन तलैसम्म पुगेका थिए । कतिपयले उहाँलाई पहिलो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा सम्मान गर्दै बाटैमा स्वागत गरेर माला लगाइदिएका थिए । घरमा भने सामान्य खुसी साट्नेबाहेक धेरै ठूलो उत्सव मनाउने कुनै काम भएन ।
उहाँ प्रधानमन्त्रीमा निर्वाचित भएको दुई दिनमै हामी स–परिवार बालुवाटार निवासमा सर्यौँ । बालुवाटार प्रवेश गर्दा झन्डामा कालो बोका पूजा गर्नुपर्छ भन्ने उहाँलाई कुनै जानकारी थिएन । तर, सेनाले पूजाका लागि तयारी गरेछ । चलनअनुसार बोको काटिएपछि नै उहाँ बालुवाटार प्रवेश गर्नुभयो । पूर्वसावधानी नअपनाउँदा अन्जानमै त्यो काम भएको थियो । तर, मिडियामा ‘कम्युनिस्ट प्रधानमन्त्री पनि बोकाको बली दिएर बालुवाटार प्रवेश गरे’ भन्ने आलोचनात्मक समाचार आयो । कतिपयले नकारात्मक आलोचना गरे ।

फजुल खर्च गरे झपार्नुहुन्थ्यो
बालुवाटार प्रवेश गरेलगत्तै उहाँले त्यहाँभित्र हुने सबै फजुल खर्चमा रोक लगाउनुभयो । त्यसपछि बालुवाटारबाट गरिने ‘इन्टरनेसनल कल’ र ३ नम्बर ढोकामा गरिने भोज पनि बन्द भयो । उहाँ यतिसम्म गर्नुहुन्थ्यो कि बालुवाटारमा रहुन्जेल ल्यान्डलाइनमा लामो कुरा गरेको देख्नुभयो भने पनि गाली गर्नुहुन्थ्यो । अनावश्यक बिजुली बत्ती बलेको देख्नुभयो भने पनि निभाउन निर्देशन दिनुहुन्थ्यो । नयाँ प्रधानमन्त्री आउनेबितिक्कै शयनकक्षको पुरानो बेड (पलङ) फेर्ने चलन रहेछ । तर, उहाँले पुरानै प्रयोग गर्नुभयो । कर्मचारीले ल्याएको २–४ वटा नयाँ तन्ना फेर्नेबाहेक कुनै सरकारी खर्च गराउनुभएन । यतिसम्म कि बालुवाटारको भान्साका लागि हामीले घरबाटै भाँडाकुँडा लगेका थियौँ । भित्र रहुन्जेल घरबाटै लगेकै भाँडा प्रयोग गर्यौँ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उहाँले सबैभन्दा पहिला गणेशमान सिंहलाई चाक्सीबारीस्थित निवासमै पुगेर भेट्नुभयो । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई भने बधाई दिन बालुवाटारमै आउनुभएको थियो । कुनै पनि नेता प्रधानमन्त्री हुँदा परिवारको नाम जोडिएर सत्ताको दुरुपयोग हुने गरेको कुरा हामी बाराम्बार सुन्ने गर्छौं । तर, हामीले त्यसरी दुरुपयोग भएजस्तो कहिल्यै अनुभूति गरेनौँ । यद्यपि, त्यतिवेला भेटघाटका लागि थुप्रै मान्छे आउँथे नै । घुमाउरो तरिकाले लाभ लिनेगरी मान्छेले कुरा पनि राख्दा रहेछन् । उहाँले ठाडै अस्वीकार गर्दिनुहुन्थ्यो । आउनेमध्ये कतिपय व्यापारी पनि हुन्थे । आमालाई भेटेर, काम भन्दिनुप¥यो भन्ने उनीहरूको प्रस्ताव हुन्थ्योजस्तो लाग्छ । त्यस्ता प्रस्ताव ठाडै ‘रिजेक्ट’ गर्दिने भएकाले आमाले प्रधानमन्त्रीसामु लैजाने कहिल्यै आँट गर्नुभएन । प्रधानमन्त्री भएलगत्तै परिवारका सबै सदस्यलाई राखेर निर्देशन दिनुभएको थियो, ‘प्रधानमन्त्रीको शक्ति प्रयोग गर्न अनेक चलखेल हुन सक्छ, खबरदार !
तिमीहरू कसैले शक्तिको दुरुपयोग गर्ने कोसिस गर्यौ भने राम्रो हुने छैन ।’ सरुवा–बढुवाका लागि धाउने मान्छेहरू दुई–तीनपटककै बीचमा काम नहुने रहेछ भन्ने लागेर होला, धाउनै छाड्थे । निर्वाचन क्षेत्रमा धेरै बजेट हाल्ने र कसैलाई जागिर खुवाउने या भनसुन गरिदिने भन्ने उहाँको स्वभावै थिएन । उहाँको केवल स्वार्थ थियो, देश कसरी बनाउने ? परिवार, घर र आफ्ना लागि कहिल्यै सोच्नुभएन । प्रधानमन्त्री भएकोमा उहाँमा कति घमन्ड थिएन । आर्थिक स्रोत जुटाएर अर्को चुनाव लड्नुपर्छ भन्ने सोच उहाँमा कहिल्यै आएन । एउटा सच्चा कम्युनिस्टमा हुनुपर्ने सबै गुण र व्यवहार उहाँमा थियो । त्यसैले, उहाँको निस्वार्थी र निष्कलंकित भावनालाई देश र जनताले सधैँ सम्झिरहनेछ ।
१२ भदौको फैसला र अस्पतालमा उहाँको चिन्ता
९ महिना सरकारमा रहेर उहाँले एउटा विषय स्थापित गर्नुभयो । कम्युनिस्टको सरकारले बदमासी गर्दैन, अनियमितता गर्दैन र देश विकास तथा जनताको हितमा मात्रै क्रियाशील हुन्छ भन्ने । उहाँको कार्यकालमा भ्रष्टाचार शून्य अवस्थामा पुग्यो । बजेट सन्तुलित रूपमा देश विकासमा लगाउनुभयो । वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँजस्ता लोकप्रिय कार्यक्रम घोषणा भए । गाउँलाई त्यतिवेला छुट्याएको तीन लाखको बजेटका कारण अहिले गाउँपालिकामा ३–४ करोड रुपैयाँ विनियोजन हुने स्थितिमा पुगेको छ । १२ भदौ ०५२ मा सर्वोच्च अदालतले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गर्ने फैसला गर्दैगर्दा हेलिकोप्टर दुर्घटनामा परेर उहाँ अस्पतालको बेडमा उपचार गराइराख्नुभएको थियो । कांग्रेसले सदन अवरोध गरेर त्यहीवेला उहाँको राजीनामा माग्यो । अस्पतालकै बेडबाट ‘फैसलाले देशलाई दशकौँ पछि धकेल्ने भयो’ भनेर हामीसँग चिन्ता व्यक्त गर्नुहुन्थ्यो । निर्वाचन घोषणापछि उहाँमा एमाले बहुमतसहितको ठूलो दल बन्नेछ भन्ने आत्मविश्वास थियो । तर, अस्पतालबाटै उहाँले राजीनामा दिनुभयो ।
पार्टी फुटेको पीडामा परिवारमाझ धेरै रुनुभयो
संसद् विघटनलगत्तै शून्यताको स्थितिमा उहाँलाई कांग्रेसबाटै गठबन्धन सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीको ‘अफर’ पनि नआएको होइन । तर, त्यो प्रस्तावलाई ठाडै अस्वीकार गरिदिनुभयो । उहाँले गठबन्धन सरकारको नेतृत्व नगर्ने अडान राखेकै कारण पछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ सरकार बनेको हो । वामदेव गौतमको नेतृत्वमा त्यतिवेला एमाले सरकारमा सामेल भए पनि उहाँलाई फिटिक्कै मन परेको थिएन ।
प्रधानमन्त्रीबाट अस्पतालको बेडबाटै राजीनामा दिँदा उहाँले पीडा व्यक्त गर्नुभएन, जति पीडा उहाँले पार्टी फुट्दा व्यक्त गर्नुभयो । पार्टी फुटेर नेकपा माले गठन भएको साँझ उहाँ हाम्रासामु धेरै रुनुभयो । वरिपरि आमा, मलगायत छोराछोरी पनि थिए । त्यसवेला उहाँले रुँदै भन्नुभएको थियो, ‘ठूलो पार्टी बनाएर देश चलाउनुपर्ने वेला पार्टी फुट्यो, अब पार्टी बनाउन, देश चलाउनका लागि नेतृत्व गर्न धेरै समय लाग्ने भयो ।’
अवसर आएका वेला दुर्घटना भयो । अध्यक्षका रूपमा विभाजन रोक्न सकिनँ भन्दै उहाँले ठूलो पीडा पोख्नुभयो । त्यो पीडामा हामीलाई पनि धेरै नरमाइलो अनुभूति भयो ।
सायद उहाँ बाँच्नुहुन्थ्यो
उहाँ नेपालगन्ज तथा कोहलपुरमा पार्टीको कार्यक्रममा भाग लिन जानुभएको थियो । उहाँ भोलिपल्ट जहाजबाट आउनुपर्नेमा काठमाडौंको चुनावी कार्यक्रममा भाग लिन दौडादौड गरेर रातारात गाडीमा आइपुग्नुभयो । हामीले उहाँलाई धेरै थाकेजस्तो मलिन अनुहारमा देख्यौँ । दमको रोगी, २–४ दिनदेखि भाषण मात्रै गरिराखेकाले थकित अवस्थामा उहाँ गोठाटारको चुनावीसभामा नगइदिएको भए या जहाजमा आइदिएको भए अलि बढी समय हामीबीच रहनुहुन्थ्योजस्तो लाग्छ ।
सायद थकाइ मरिसकेकै थिएन, जिविसका तत्कालीन उपसभापति रामेश्वर फुँयाल चुनावी कार्यक्रममा बाबालाई प्रमुख अतिथिका रूपमा लैजानका लागि बिहानै गाडी लिएर आउनुभयो । डा. अरुण सायमी पनि घरमा आइपुगेपछि गाडीमा श्वास–प्रश्वासमा सहयोगका लागि सिलिन्डर राख्ने कि नराख्ने भन्ने छलफल भयो । तर, अन्ततः कार्यक्रममा सम्बोधन गर्दागर्दै उहाँ बीचैमा ढल्नुभयो । गाडीमा सँगै गएका दुईजना नर्स पनि उहाँ ढलेपछि अत्तालिएछन् । अत्तालिएका वेला होस नभएर पनि हुन सक्छ, उहाँलाई गाडीमा सुताएर ल्याउनुपर्नेमा माया गरेर काखमा राख्दा घाँटी झुन्डिएछ । शिक्षण अस्पतालमा ८ दिनसम्म आइसियुमा राखेर उपचार गरियो । होस नभएका कारण भेन्टिलेटरमा राखेर उपचार भइरह्यो । तर, सुधार भएन । उहाँ होसमा आउनुभएन । अन्तिममा भेन्टिलेटरबाट झिकेपछि उहाँको दुःखद् निधन भयो ।
मदनप्रति सधैँ पछुतो, गणेशमानको मृत्युमा आँसु
विदेशी नेतामध्ये नेल्सन मन्डेलालाई आदर्श नेताका रूपमा बारम्बार नाम लिनुहुन्थ्यो । मदन भण्डारीलाई होनाहार नेताका रूपमा लिनुहुन्थ्यो । उहाँकै कारण पार्टी एकीकरण भएर आफू अध्यक्ष बन्न सम्भव भएको कुरा गर्नुहुन्थ्यो । मदन हुँदैनथे भने मलाई अध्यक्ष बनाउने सवालमा अरूले प्रश्न उठाउँथे, भन्नुहुन्थ्यो । मदनलाई देशकै गहनाका रूपमा चर्चा गर्दै सेक्युरिटी’को ख्याल नगर्दा, बढी ‘सिम्प्लिसिटी’ अपनाउँदा दुर्घटना भएकोमा चिन्ता गर्नुहुन्थ्यो । मदनका लागि सजगता अपनाउन नसकेकोमा पछुताउनुहुन्थ्यो ।
सुरुमा एउटै पार्टीमा काम गरेको समकालीन नेता भएकाले पनि होला, विपी कोइरालाको बढी नै नाम लिनुहुन्थ्यो । तर, गिरिजाप्रसाद कोइरालासँग त्यति घनिष्ट सम्बन्ध थिएन । गणेशमानलाई भने धेरै सम्मान र आदर गर्नुहुन्थ्यो । गणेशमानको निधन हुँदा पशुपति आर्यघाटमा धेरै लामो समयसम्म रुनुभएको थियो ।
















प्रतिक्रिया