बर्दिया, १० असोज । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जरायोसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार राती कैलालीबाट बर्दियाको भुरिगाउँ आउँदै गरेको से ३ प १०९५ नम्बरको मोटरसाइकल कर्णाली चिसापानीदेखि करिव ६ किलोमिटर पूर्व निकुञ्ज क्षेत्रमा जरायोसँग ठोक्किएको प्रहरीले जनाएको छ । बाटो पार गर्दै गरेको जरायोसँग मोटरसाइकल ठोक्किदा टीकापुर नगरपालिका ९ का ४२ बर्षीय बिष्णुभक्त रावतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मोटरसाइकलले ठक्कर दिएको जरायो समेत मरेको छ ।
निकुञ्ज क्षेत्रभित्र राजमार्गमा सवारी साधनको गति बढी हुनाले यस्ता दुर्घटना हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । रम्मापुरदेखि सैनवार पोष्ट र आम्बासादेखि चिसापानी पोष्टसम्मको निकुञ्ज क्षेत्र अत्यन्त संवेदनशिल मानिन्छ । यस क्षेत्रमा बढी मात्रामा बाघ, हात्ती, जरायोलगाएतका वन्यजन्तु देखिने गर्छन । चालकले सावधानी नअपनाउँदा दुर्घटना हुने गरेको निकुञ्ज प्रशासनको भनाई छ । ‘राजमार्ग भित्र पर्ने निकुञ्जको संवेदनशिल क्षत्रमा सावधानी अपनाएर सवारी हाक्न अनुरोध गर्छै । तर चालकको लापरवाहीले गर्दा मानव र वन्यजन्तु दुबैको क्षती हुने गरेको छ,’ निकुञ्जका निमित्त प्रमुख रमेशकुमार थापाले भने ।
दिउँसो भन्दा रातीको समय यो क्षेत्रमा आवगमन गर्नु झनै खतरा मानिन्छ । कुनैपनि बेला वन्यजन्तुले बाटो काट्न सक्ने भएकाले बढी खतरा हुने गरेको हो । सजगकताका लागि ठाउँठाउँमा सन्देशमुलक मुलक सुचना राखीएपनि चालकहरुले वेवास्ता गर्दा दुर्घटना हुने गरेको निकुञ्जको भनाई छ । एक महिना अघि सोही क्षेत्रमा बसले ठक्कर दिँदा एउटा पाटेबाघको मृत्यु भएको थियो ।













प्रतिक्रिया