१ कार्तिक २०८३, आइतबार

उपत्यकाव्यापी करातेमा थैब टिम च्याम्पियन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । थैब डोजोले प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ८ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ थैब समग्रमा टिम च्याम्पियन बन्यो ।

आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यसाथ दोश्रो भयो । ६ स्वर्ण, २ रजत र ६ कांस्य जितेको विद्यासागरले तेश्रो स्थानमा चित्त बुझायो ।

ललितपुरको थैबस्थित सुइरेमा भएको प्रतियोगिताको पुरुषमा विद्या सागरका सुमन तामाङ तथा महिलामा आयोजक भारदेउकी एरिना घले उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषमा नव शान्ति डोजोका मनीष खड्का तथा महिलामा चौघरे डोजोकी सेम्सङ लामा उदीयमान खेलाडी चुनिए । नागर्जुन डोजोले अनुशासित टिमको उपाधि हात पा-यो ।

विजेतालाई कोन्जियोसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिङतानलगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको अर्थ राज्यमन्त्री उदयशमशेर राणाले उद्घाटन गरेका थिए ।

एकदिने प्रतियोगितामा १ सय ७० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक भारदेउका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाएका छन् ।

जितकुण्डोमा खड्का निरन्तर

नेपाल जितकुण्डो मार्सल आर्ट संघको चुनावी साधारणसभाले विमलकुमार खड्कालाई पुनः अध्यक्षमा चयन गर्दै १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा सर्वेश ज्ञवाली र रामबहादुर ठकुरी, महासचिवमा शिवबहादुर थापा, सचिवमा राजु भण्डारी तथा कोषाध्यक्षमा मनोजकुमार आचार्य निर्विरोध चुनिए ।

दिनेश श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, गोकर्ण उपरकोटी, गीता थापा, हिक्मतबहादुर थापा, ओमनाथ न्यौपाने, राजेशबहादुर श्रेष्ठ, किरणकुमार हमाल, नवराज दनुवार र दधिराम भण्डारी सदस्यमा चयन भए ।

इन्डो–नेपाल तेक्वान्दो सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोग तथा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपालको आयोजनामा इन्डो–नेपाल तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जुरी राजेश लामालाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।

दुईदिने प्रतियोगितामा विभिन्न २२ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राकेशकुमार राईले जनाएका छन् ।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला र महासचिव राजकुमार कार्कीले प्रतियोगिताको महत्व बारे प्रकाश गरेका थिए ।

उद्घाटनका अवसरमा अमेरिकाबाट आएका ग्रान्ड मास्टर अमिर श्रेष्ठ, तेक्वान्दो वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।