
विजय थापा
अमेरिका । युवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाल अन्ततः कारबाहीमा परेका छन् ।
नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा) को सेप्टेम्बर २३ मा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको चौथो बिशेष आकस्मिक बैठकले नेपाललाई साधारण सदस्य पद समेत नरहने गरी संस्थाबाट निष्काशन गरेको हो । उनी नासाका नवनिर्वाचित कार्यकारी उपाध्यक्ष हुन् । बैठकमा सुशील नेपाल स्वयम् उपस्थित भएका थिए । उनलाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको हो । नासाको बिधानको धारा ५, परिच्छेद १ को उपधारा १ अनुसार कारबाही गरिएको नासाले जनाएको छ ।
बिधानको साथै संस्थाको छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिबारकै दिन देखि लागु हुने गरि निस्काशन गर्ने निर्णय गरेको गरेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा) का अध्यक्ष माधव ढकाल तथा महासचिब कृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्कीमाथि नेपालले यौन दुर्व्यहार गरेका थिए ।
गायिका कार्कीले संस्थागत कारवाही ढिलो भएकोले आफू थप पीडामा परेको भन्दै फेसबुकमार्फत आफूमाथि भएका घटनासहित आह्वान गरेकी थिइन् । उनको फेसबुक लाइभ भाइरल बनेको थियो । अमेरिकामात्र नभई विश्वभर रहेका नेपालीहरुले समेत निक्कीलाई सान्त्वना दिँदै उनको न्यायिक लडाईंमा साथ दिने बताएका थिए । ढिलै भए पनि निक्कीले न्याय पाएकी छिन् । तर, यो घटनाले नर्थ क्यारोलिनामात्र नभई अमेरिकाको नेपाली समाजभित्र सामाजिक अगुवाहरुका विषयमा अनेकखाले टिकाटिप्पणी सुरु भएको छ ।
हेर्नुस् यसअघि निक्कीले सार्वजनिक गरेको फेसबुक भिडियोः
https://www.facebook.com/nickykarkii/?hc_ref=ARQsa_4Cs3deOoklEo5C6_9ULQQG4AZZMGcohkQno7DXE8hLHHjXAojlnAyYD2lTKKU















प्रतिक्रिया