२१ कार्तिक २०८३, शनिबार

शान्ति मिसनमा सिरिया जाने फौजलाई राष्ट्रपति र प्रधानसेनापतिले के निर्देशन दिए ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ यूएनआईएफआईएल मिसन, लेवनानमा तैनाथ हुन जाने श्री बरख गण (शा.से.) ५९ औं डफ्फा र यूएनडिओएफ मिसन, सिरियामा तैनाथ हुन जाने श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शा.से.) छैठौं डफ्फा तथा ईञ्जिनियर से.मु. दोस्रोे डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत प्रि डिप्लोमेन्ट तालिमको अन्तिम निरीक्षण, तथा उक्त मिसनमा भाग लिन जाने शान्ति सैनिकहरुलाई सम्बोधनसहित तालिमको समापन गर्नुभएको छ ।

उक्त अवसरमा प्रधानसेनापति क्षत्रीले शान्ति सेनामा खट्टि जाने सैनिकहरुलाई नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि जान लाग्नु भएका सकलदर्जालाई बधाई दिनुहुँदै नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशका द्वन्द्वरत स्थानहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहँदै आएको उल्लेख गर्नुहुँदै शान्ति स्थापनार्थ खट्टिने नेपाली सैनिकहरुले विगतमा नेपाली वीर सैनिकहरुले आर्जेको नेपाल र नेपालीको छबि उच्च राख्दै शान्ति स्थापना कार्यमा निष्ठा र ईमान्दारीकासाथ समर्पित रहने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।

उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी क्षत्रीले संयुक्त राष्ट्रसङ्घीय विभिन्न मिशनहरुमा नेपाली सेनाले विगत ५९ वर्षदेखि प्रदर्शन गरेको उच्चस्तरको अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धतालाई कदर गर्दै संयुक्त राष्ट्रसङ्घले नेपाललाई हाल एक अति विश्वसनीय ट्रुप्स कन्ट्रिब्यूटिङ कन्ट्रीको रुपमा लिएको बताउनुहुँदै तालिम समाप्त गरेका सकलदर्जाहरुले प्रि डिप्लोमेन्ट ट्रेनिङ्गको दौरान देखाएको अनुशासनलाई कायम राखि कार्य क्षेत्रमा समेत अनुशासित, ईमान्दार र कर्तव्यनिष्ठ भई दिएको जिम्मेवारी बहन गर्दै मिसन म्यान्डेट पूरा गर्न समर्पित भएर लाग्नुभई संयुक्त राष्ट्र सङ्घको नेपाल तथा नेपाली सेनाप्रतिको विश्वसनीयतामा थप अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

सम्बोधनकै क्रममा वहाँले ईमान्दारिता, व्यवसायिकता र विविधताप्रति सम्मान जस्ता महत्वपूर्ण विषयलाई ख्यालराखी ईमान्दार, दक्ष तथा कुशल शान्ति सैनिकको रुपमा कार्य सम्पादन गरेर देखाउन निर्देशनसमेत दिनुभएको थियो ।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीलाई दुईवटै मिशनमा खट्टिनु भएका युनिटपतिहरुले आ–आफ्नो मिशनको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने क्षत्रीले मिशनमा तैनाथ हुन जाने गणले प्रदर्शन गरेको मिशन ईलाकामा आईपर्ने चूनौती र गर्नुपर्ने कार्यहरु सम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा सन् १९५८ बाट शान्ति सैनिकहरु खटाउँदै आएको छ । हालसम्म १,१७,२२९ जना नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसङ्घअन्तर्गत विभिन्न ४२ वटा मिशनहरुमा आफ्नो अमूल्य योगदान गरिसकेका छन् । हालसम्म ६३ जना शान्ति सैनिकहरुले विश्व शान्तिको लागि आफ्नो ज्यान समर्पण गरिसकेका छन् भने ६३ जना शान्ति सैनिकहरु शान्ति मिशनहरुमा खट्टिदा घाईते भएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ फौज खटाउने राष्ट्रहरु मध्ये छैठौं ठूलो मुलुकको रुपमा रहेको छ ।