१ कार्तिक २०८३, आइतबार

एनसेलको खुद नाफा ३५ प्रतिशत बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३५ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन आजियाटा गु्रप बर्हादले हालै सार्वजनिक गरको २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तिय प्रतिवेदनले यो कुरा जनाएको हो ।

प्रतिवेदन अनुसार, दोस्रो त्रैमासिकमा एनसेलको खुद नाफा मलेसियन रिङ्गेट २०.९८ करोड अर्थात रु ५.१४ अर्ब पुगेको छ । त्यसै गरी पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा कम्पनीको आय पनि ३.९ प्रतिशतले वृद्घि भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसरी आम्दानी वृद्घि हुनुमा फोरजी सेवा संचालन पछि डाटा सेवामा भएको ११.५ प्रतिशतको वृद्घि र कम्पनीले ल्याएका विभिन्न अफरहरुको योगदान गरको आजियाटाले जनाएको छ । कम्पनीको संचालन मुनाफ पनि ३.५ प्रतिशतले बढेको छ ।

नेपालको एनसेल, क्याम्बोडियाको स्मार्ट र श्रीलंकाको डायलगको प्रमुख योगदानमा आजियाटा गु्रपकै संचालन मुनाफा १२.४ प्रतिशतले बढेको आजियाटाले जनाएको छ ।

अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा गिरावट आएपनि जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी र कम्पनीका विविध अफरहरुले गर्दा एनसेलको दोस्रो त्रैमासिकको आयमा सकारात्मक प्रभाव परेको आजियाटाले जनाएको छ ।

हाल एनसेलको फोरजी सेवा देशका विभिन्न १९ शहरहरुमा संचालनमा रहेकोे छ र कम्पनीले सस्तो दरमा सेवा प्रदान गर्न वान प्लान नामक अफर र न्युनतम २ पैसा प्रतिएमबि इन्टरनेट सेवा लिन सकिने नयाँ डाटा प्याकहरु प्रदान गर्दै आएको जनाएको छ ।

दोस्रो त्रैमासिकको वित्तिय प्रतिवेदन अनुसार, एनसेलको डाटा खपत गतवर्ष सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ । अघिल्लो वर्ष सोही अबधिमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो । डाटा खपतमा वृद्घिसँगै कम्पनीको डाटाबाट हुने आयमा समेत १६.९ प्रतिशतले वृद्घि भएको आजियाटाले जनाएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा आयको योगदान १७.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् ।

डाटाको ग्राहक संख्यामा भएको वृद्घि, तुलनात्मक रुपमा सस्तिएको डाटा शुल्क, स्मार्टफोनको प्रगोगमा वृद्घि लगाएतका कारणले पनि नेपालमा डाटा खपत बढ्दो क्रममा रहेको छ । एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेका छन् ।

प्रतिवेदन अनुसार यो वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिग्राहक डाटा खपतमा पनि भारीे वृद्घि रहेको छ । समिक्षा अवधिमा एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका छन् । गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो ।

पहिलो पटक एनसेलले जेठ १८ मा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याए पश्चात, सेवा विस्तार गर्दै हाल पुर्व देखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउदै आएको छ र सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको बताएको छ ।