काठमाडौं, २ असोज । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले कार्यपालिका बोर्डमा बहुमत ल्याएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसप्रति आक्रोशित बनेका छन् ।
भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनसँग बहुमत हुँदापनि एमालेले कार्यपालिकामा बाजी मारेपछि प्रचण्ड असन्तुष्ट बनेका हुन् । कार्यपालिकाको परिणामपछि चितवनमा माओवादी जिल्ला कार्यसमितिले भने कांग्रेसबाट धोका भएको आरोप लगाएको थियो । उसले कांग्रेसले घात गरेकै कारण गठबन्धन पराजित भइ एमालेले बहुमत ल्याएको टिप्पणी गरेको थियो ।
जिल्लाबाट यस्तो रिपोर्टिङ भएपछि भरतपुरको कार्यपालिका चुनावी परिणामबारे प्रचण्डले आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमै भेटेर असन्तुष्टि व्यक्त गरेका छन् । बालुवाटार स्रोतका अनुसार भेटमा प्रचण्डले देउवालाई ‘हाम्रो बहुमत हुँदाहुँदै एमालेले कसरी जित्यो ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘नहुनु पर्ने परिणाम आयो’ भन्दै यसबारे पार्टीमा बुझ्ने आश्वासन दिए ।
भरतपुरमा विभिन्न जालझेल गरी छोरी रेणु दाहाललाई मेयर बनाइछाडेका प्रचण्ड कार्यपालिकामा एमालेले बहुमत ल्याउँदा यतिबेला चिन्तित छन् । छोरी जितेपछि चितवनबाटै चुनाव समेत लड्ने घोषणा गरिसकेका प्रचण्ड महानगरमा छोरीले एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था आएपछि चिन्ता व्यक्त गरेको उनी निकटस्थ बताउँछन् । यसले प्रतिनिधिसभा चुनावमा पनि असर पार्ने प्रचण्डको बुझाई छ ।
गत शुक्रबार ८ सदस्यका लागि लागि भएको पदमा एमालेका ६ र कांग्रेसका २ सदस्य चुनिए, जबकी एमालेका ७०, कांग्रेसका ६९ र माओवादीको ८ मत थियो । माओवादीका एकजनाले पनि जितेनन् ।















प्रतिक्रिया