२ कार्तिक २०८३, सोमबार

जापानी अध्यागमनले यसकारण फिर्ता पठायो कांग्रेस नेता पौडेललाई (हेर्नुस् विज्ञप्तिसहित)

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई जापानी अध्यागमनले फिर्ता पठाउनुको कारण आयोजक (स्पोन्सर) व्यक्तिको उपस्थिती नहुनु रहेको खुलेको छ ।

पौडेललाई निमन्त्रणमा पठाएर जापान बोलाउने नेपाली जनसम्पर्क समितिसम्बद्ध रतेन्द्र गिरिले पौडेललाई अध्यागमन विभागले नियन्त्रणमा लिएर फिर्ता पठाएको भन्ने समाचार आएपछि आइतबार विहान विज्ञप्ति जारी गर्दै जापानको अध्यागमनमा प्रवेश दिने बेला स्पोन्सर गर्ने व्यक्तिलाई बोलाउन भनिएको र आफू विशेष कामले त्यही दिन नेपालमा भएकोले उपस्थित हुन नसक्दा अध्यागमनले प्रवेश गर्न नदिई फिर्ता पठाएको स्पष्ट पारेका छन् ।

‘स्पोन्सरको हैसियतमा रहेको म विशेष कारणले नेपाल आउनु परेको बेलामा मेरै आतिथ्यतामा जापान भ्रमणमा जानुभएका नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल र पत्रकार अनिल न्यौपानेलाई पर्न गएको असुविधाप्रति क्षमा माग्छु,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् प्रेस विज्ञप्तिः

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र पत्रकार अनिल न्यौपानेलाई जापानको अध्यागमनबाट फिर्ता पठाईएको विषयमा स्पष्ट पार्नको लागि यो विज्ञप्ती जारी गरेको छु । म १४ वर्षदेखि जापानमा बस्दै त्यहाँ व्यवसाय तथा सामाजिक काममा संलग्न रहँदै आएको छु।

समय समयमा नेपालबाट विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुलाई जापान भ्रमणका लागि बोलाउँदै नेपालको समृद्धीमा जापानबाट सिक्न सकिने विषयहरुमा छलफलहरु गराउँदै आएको थिए। यो पटक मेरो निमन्त्रणामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र प्रदीप पौडेल सहितको चार सदस्यीय टोली शनिबार साँझ जापानको राजधानी टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको थियो । जापान भ्रमण र भेटघाटकै लागि मैले निमन्त्रणा पठाएको र मेरै स्पोन्सरसिपमा उहाँ जापान आउनु भएको हो। तर विशेष कारणले शुक्रबार साँझ म अचानक नेपाल आउनु परेको थियो। म नेपाल आउने समयमा उहाँहरुको टिकट तथा भीसा निश्चित भईसकेकोले उहाँहरु जापान आउने तयारीमा हुनुहुन्थ्यो। मैले नेपाल भ्रमणबारे उहाँहरुलाई जानकारी गराउने अवसर समेत पाइन। मेरो नेपाल भ्रमणको बारेमा जापानमा रहेका नेपाली जनसम्पर्क समितिका साथीहरुलाई गराएको थिए।

यसअघी म जापानमा नहुँदा पनि मैले स्पोन्सरसिप पठाएर जापान आउनुभएकाहरुलाई सजिलै प्रवेश दिईएकोले म उहाँहरुको जापान प्रवेश सहज हुने विश्वासका साथ नेपाल आएको थिएँ । तर, जापानको अध्यागमनमा पुगेपछि उहाँहरु मध्ये दुई जना धनराज गुरुङ र दिलिप थापालाई प्रवेश दिईएको र बाँकी दुईजनालाई प्रवेश दिने बेलामा स्पोन्सर गर्ने व्यक्तिलाई बोलाउन भनिएपछि उहाँहरुले मलाई बोलाउनु भएको थियो । तर, म विशेष कामले नेपालमा भएकोले म अध्यागमनमा उपस्थित हुन नसक्दा नेता पौडेल र पत्रकार न्यौपानेलाई अध्यागमनले प्रवेश गर्न नदिएको स्पष्ट पार्न चाहन्छु । जापानी अध्यागमनले भ्रमण भीसामा जापान आउने व्यक्तिको बारेमा स्पोन्सर गर्ने व्यक्तिसँग कहिलेकाँही सोधपुछ गर्ने क्रममा उहाँहरुलाई नै सोधिनु र म त्यहाँ नहुनु दुखद संयोग भयो। जापान सरकारले स्पोन्सर गर्ने व्यक्ति आउनै पर्ने भनेपछि मैले जापानमा रहेका मेरा सहोदर दाजुलाई त्यहाँ पठाए पनि स्पोन्सर गर्ने व्यक्ति नै आउनुपर्ने अडान अध्यागमनले राखेपछि नेता पौडेल र पत्रकार न्यौपाने सोही दिन नै नेपाल फर्किनुभएको छ । आईतबार विहान हङकङ आईपुग्नु भएका उहाँहरु आईतबार साँझ नेपाल आईपुग्दै हुनुहुन्छ ।

स्पोन्सरको हैसियतमा रहेको म विशेष कारणले नेपाल आउनु परेको बेलामा मेरै आतिथ्यतामा जापान भ्रमणमा जानुभएका नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल र पत्रकार अनिल न्यौपानेलाई पर्न गएको असुविधाप्रति क्षमा माग्छु।

रितेन्द्र गिरि
जापान हाल काठमाडौं
२०७४ असोज १ गते आइतबार