चितवन, ३१ भदौ । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत ल्याएपछि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा दरार पैदा भएको छ ।
विभिन्न जालझेल गरेर महानगरको मेयर र उपमेयर जितेको गठबन्धन कार्यपालिकामा बहुमत ल्याउन असफल भएपछि कांग्रेस नेता कार्यकर्ता माओवादीसँगको गठबन्धन तोड्ने निष्कर्षमा पुगेका छन् । यद्यपी नेतृत्वले यसबारे केही प्रतिक्रिया जनाएको छैन् ।
शुक्रबार विहानमात्रै कांग्रेस सांसद रामकृष्ण घिमिरले बारम्बार माओवादीलाई भोट हाल्न परे कांग्रेसमा बस्नुको औचित्य नभएको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति महानगरको कार्यपालिका बोर्ड निर्वाचनको ठिक ३ घण्टा अगाडि थियो । स्थानीय तहको निर्वाचनमा माओवादीलाई भोट हालेको र फेरि कार्यपालिकामा भोट हाल्नुपर्ने अवस्था आएकोमा उनले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए । उनले असन्तुष्टि व्यक्त गरेको ५ घण्टापछि शुक्रबारै सार्वजनिक चुनावी परिणाममा एमालेले बहुमत ल्याइदियो । भोट हाल्नुपरेकोमा सांसद असन्तुष्ट रहेका बेला कार्यपालिका बोर्ड निर्वाचनमा बहुमत हुँदाहुदै पनि एमालेले जितेपछि कांग्रेस कार्यकर्ता पनि आक्रोशित बनेका छन् । उनीहरुले पार्टी जिल्ला नेतृत्वले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
यता नेकपा माओवादीले भने बोर्डको चुनावमा कांग्रेसका प्रतिनिधिले धोका दिएको आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले आफ्नै उम्मेदवारलाई भोट नदिने कांग्रेसले माओवादीलाई पनि भोट नदिएको दाबी गर्दै कांग्रेसकै कारण गठबन्धन हारेको टिप्पणी गरे । यसरी गठबन्धनको हारलाई लिएर दुबै पार्टीमा विवाद सुरु भएको छ ।
कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै एमालेले कसरी ल्यायो बहुमत ?
कार्यपालिका गठनका लागि शुक्रबार १४७ जनाले गरेको मतदानमा एमालेले ७० मत प्राप्त गर्यो । महानगरपालिकाको मतको अवस्था एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर, एमालेले दलित र महिला ३–३ पदमा जितेर कांग्रेस–माओवादी गठबन्धनविरुद्ध बहुमत हासिल गर्यो । यससँगै महानगरकी मेयर रेणु दाहाललाई अब एमालेसँग सहकार्य गर्नैपर्ने अवस्थामा ल्याएको छ ।
कार्यपालिका सदस्यका लागि भएको मतदानमा माओवादीबाट उम्मेदवार बनेका १ महिला र २ दलित सदस्य पराजित बने । कांग्रेसका ४ महिला सदस्यमध्ये २ विजयी भए भने २ जना पराजित भएका छन् । कांग्रेसको १ दलित सदस्य पनि हारे । २ जना महिला शुरुमा नै निर्वाचित भएपनि कांग्रेस र एमालेका २–२ जनाको मत (७२–७२) बराबर भएपछि गोलाप्रथाबाट सदस्य चयन गरियो । गोलाप्रथामा एमालेका २ जना र कांग्रेसबाट १ जना महिला चयन भए । गोलाप्रथाबाट थपिएको १ महिला सदस्यकै कारण वोर्डमा एमालेले बहुमत जुटायो ।













प्रतिक्रिया