काठमाडौं, ३० भदौ । साफ यू–१८ च्याम्पियनसिप खेल्न भुटान जाने नेपाली फुटबल टोलीलाई शुक्रबार विदाई गरिएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्पलेक्समा आयोजित समारोहमा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले असोज २ गतेदेखि भुटानको थिम्पुमा हुने च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीलाई विदाइ गरेका हुन् । विदाई गर्दै मन्त्री केसीले नेपाली हुँ, नेपालको लागि खेल्दैछु, जसरी पनि जित्छु भन्ने भावना राख्न आग्रह गरे ।
विदाइ कार्यक्रममा एन्फाका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नेपालले राम्रो नतिजा ल्याउदै उपाधि रक्षा गर्ने विश्वास व्यक्त गरे । ‘डिफेन्डिङ च्यापियन हौं भन्ने कुरा नविर्सिनुहोला,’ उनले भने– ‘राउण्ड रोविनमा चार खेल खेल्छौं, राम्रो नतिजा ल्याउने विश्वास छ ।’
अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय नेपाली टिम शनिबार दिउँसो भुटान प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान तथा गोलकिपर अर्पणसँगै उपकप्तान प्रिजन तामाङ, सन्देश गुरुङ, अबिषेक रिजाल, सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, अशिम भुसाल, विकास खवास, निराजन महर्जन र राजन गुरुङ परेका छन् । त्यस्तै दिनेश हेन्जन, अशोक मगर, अभिषेक रिजाल, एरिक बिष्ट, अनिल महर्जन, सेसेहाङ आङदेम्बे र राजिब लोचन टोलीमा परेका छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ, सहायक प्रशिक्षकमा पुस्कर शाही, गोलकिपर कोच मृगेन्द्र मिश्र र टिम म्यानेजरमा गणेश चन्द रहेका छन् ।
साफ यू–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग असोज ४ गते खेल खेल्नेछ ।
पाँच टोली सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र ११ गते भारतसँग खेल्नेछ । प्रतियोगितामा सार्क राष्ट्रका पाकिस्तान र श्रीलंकाले भने सहभागिता जनाएका छैनन् ।
राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ । यसअघि नेपालमा भएको पहिलो साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपाले जितेको थियो ।



















प्रतिक्रिया