२ कार्तिक २०८३, सोमबार

शेरबहादुर देउवाको १०० दिनः इतिहासकै असफल सरकार, यस्ता छन् देउवाका ११ गल्तीहरु

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । प्रधानमन्त्रीका रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबार आरोहण गरेको करिब सय दिन पुगेको छ । २०७४ जेठ २३ गते देउवा प्रधानमन्त्रीमा चुनिएका थिए । सय दिनलाई फर्केर हेर्ने हो भने उनको कार्यकाल अत्यन्तै निराशाजनक र विरक्तलाग्दो बनेको छ । यस बीचमा प्रधानमन्त्री देउवा हरेक दिनजसो विवादमा तानिएको देखिन्छ । कहिले घरेलु या आन्तरिक मामिला त कहिले छिमेकसँगको सम्बन्धको विषयलाई लिएर उनी पटकपटक विवादको शिखरमा रहे ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने कार्यभार पूरा गर्नेबाहेक उनका कयौं काम अझैं अधुरै छन् । मधेशकेन्द्रित दल चुनावमा आउनुको जससमेत उनले पाउने अवस्था छैन ।

देउवा सरकार विवादमा मात्रै होइन, अलमलमा नै देखिन्छ । अर्थात एक सय दिनसम्म पनि उनको सरकारले कामको लय लिन सकेको छैन । यसको एउटा प्रमाण उनले अहिलेसम्म आफ्नै सचिवालयलाई पूर्णता दिनसकेको पाइदैन । स्वकीय सचिवहरु र सल्लाहकार सक्रिय हुनुपर्नेमा प्रथम महिला अर्थात उनकी पत्नी आरजु राणाको अस्वभाविक सक्रियता मात्रै सर्वत्र प्रभावी देखिन्छ ।

यस बीचमा प्राकृतिक विपद्का कारण तराईंमा निकै ठूलो जनधनको क्षति भयो । तर, सरकार बाढीको त्यस विध्वंश र क्षतिको सामाना गर्नसमेत पूरै असफल रह्यो । जनताले हप्तौंसम्म राहत नै पाउन सकेनन् । उद्दार र राहत वितरण पनि त्यस्तै भद्रगोल र नाम मात्रको रह्यो । कोशीको ढोका खोल्ने विषयमा समेत सरकार मूकदर्शक भइरहह्यो । बेलैमा कूटनीतिक पहल गरेर कोशीको ढोका खोल्न सकेको भए ठूलो जनधनको क्षति रोकिने अवस्था थियो ।

राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल भन्छन्, ‘स्थानीय तहको दोस्रो चरणको चुनाव सम्पन्न भयो । तेस्रो चरणको चुनाव पनि सफल हुँदैछ, योचाँहि सकारात्मक नै मान्नुपर्छ ।’

सरकारका कामलाई क्रस चेक गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने देउवा सरकारलाई इतिहासकै असफल सरकारको संज्ञा दिएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा भन्छन्, ‘असफल शब्दको प्रयोग गर्दा समेतत्यो शब्द नै अमानित हुने अवस्था रहेको छ । यस्तो सरकार हुनु र नहुनुको कुनै अर्थ हुँदैन र छैन । प्रधानमन्त्री देउवाबाट आफ्ना पुराना गल्तीको कीर्तिमान समेत यसपालि माथ गर्ने काम भएको छ ।’ इतिहासकै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएर सुशासनको आकांक्षामा गंगीर घात गर्ने काम भएको छ । दीपक बोहराजस्ता भ्रष्टशिरोमणिलाई मन्त्री बनाएर पुरस्कृत गर्नेदेखि गोपाल खड्कासम्मलाई संरक्षण गर्ने काम भएको छ ।

थापाले दैनिक नेपालसँग भने – ‘भारत भ्रमणका बेला त झन् प्रधानमन्त्री पदको गरिमालाई मुख्यमन्त्रीभन्दा तल गिराउने र लेण्डुप दोर्जेको हैसियतमा पु¥याउने काम भयो । अनुकूल समयमा संविधान संशोधन गराउँछौं भन्ने कबुलियतनामा नै गरेर नेपाली जनताको स्वाभिमानमाथि घात गर्ने काम प्रधानमन्त्री स्वयम्बाटै भएको छ ।’, थापाले थपे – ‘दोक्लाम प्रकरणमा त झन् भारतलाई साथ दिन्छु भनेर प्रधानमन्त्री देउवाबाट चीनविरोधी गतिविधिलाई प्रश्रय दिने र पंचशीलको मान्यताविपरित काम भएको छ ।’

थापाका नजरमा देउवाका १० गल्ती गल्ती यसप्रकार छन्: 

१,

प्रधानमन्त्री देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ सालमा आफूले बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलको रेकर्डलाई तोड्दै उनले यसपटक ५४ सदस्यीय मन्त्रिमण्डल बनाए । मन्त्रिमण्डलको संख्या अझै बढ्ने अवस्था छ । जुन संविधानको भावना र सुशासनको मान्यताविपरीत छ ।

२,

सत्ता टिकाउने नाममा अख्तियारको जिम्मा लगाउनुपर्ने दीपक बोहरालाई पुरस्कृत गर्दै मन्त्री बनाइएको छ । आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का लगायतका भ्रष्टाचारका आरोपीमात्र नभएर दोषीहरुले संरक्षण पाइरहेका छन् ।

३,

तस्करहरुले शिर ठाडो बनाएको देखिएको छ । इतिहासमै ८८ किलो सुन तस्करीको पर्दाफास भएको छ । ठमेलका रिक्सामुनिदेखि ठेलागाढा र ढलमासम्म सुन भेटिन थालेको छ । तर, प्रहरी प्रशासनकै संरक्षणमा मालिक भाग्न सफल भएका छन् ।

४,

काँग्रेसको स्वार्थभन्दा पनि माओवादीलाई फाइदा पु¥याउने गरी प्रधानमन्त्री चलेको देखिन्छ । नेपाली काँग्रेसलाई माओवादीको बैशाखी बनाउने काम भएको छ । वीपी कोइरालादेखि गिरिजाप्रसादसम्मले आफ्नै नेतृत्वमा लडेर स्थापित गरेको पार्टीलाई माओवादी केन्द्रको शाखामा रुपान्तारिर गर्ने काम देउवाबाट भएको छ । सत्ता टिकाउनका लागि माओवादी अध्यक्ष प्रचण्डकी छोरीदेखि सल्लाहकारहरुसम्मलाई विभिन्न निर्वाचनमा मूल नेतृत्व नै सुम्पिएको छ ।

५,

तराईमा बाढीले वितण्डा मच्चाउँदा पनि सरकारको भूमिका अत्यन्तै फितलो रह्यो । बेलैमा उद्दार र राहत वितरणको काम नै हुन सकेन । जसले गर्दा धेरै जनताले अकारण ज्यान गुमाउनु प¥यो । कोशीको ढोका खोल्नेदेखि छिमेकीसँग आफ्नो देशको हितका विषयमा प्रधानमन्त्रीले स्पष्टसँग भन्नै सकेको देखिएन ।

६,

सप्तकोशी उच्च बाँध बनाउन सहमति प्रदान गर्नेजस्ता राष्ट्रघाती सम्झौता गरेर तराईका भूभागलाई जलमग्न गराउने काममा प्रधानमन्त्री उद्दत हुनु इतिहासकै लागि कलंकको कदम हो ।

७.

छिमेकी मुलुक भारत भ्रमणको बेला प्रधानमन्त्री यति झुकेको देखियो कि प्रधानमन्त्रीको गरिमालाई कुनै एक प्रदेशको मुख्यमन्त्री भन्दा तल गिराउने गरी प्रधानमन्त्रीका अभिव्यक्तिहरु सार्वजनिक संचारमाध्यममा आए । प्रधानमन्त्रीको काम र अभिव्यक्तिले नेपालीको स्वाभिमान र भावनामाथि अत्यन्त ठोस पु¥याएको छ । भारतमा गएर अनुकूल समयमा संविधान संशोधन गराउँछौं भनी कबुलियतनामा गर्नु प्रधानमन्त्रीको महाभूल र आत्मसमपर्ण थियो ।

८,

दोक्लाम प्रकरणमा देउवा तटस्थ बन्नुको सट्टा भारतपरस्त नै बनेको स्पष्ट देखियो । भारतलाई साथ दिन्छु भनेर चीनविरोधी गतिविधिलाई प्रश्रय दिनु कूटनीतिक मर्यादाविपरीत कार्य नै थियो ।
९, भूकम्पपीडितलाई राहत दिने गरी काम गर्न सरकार पूर्णतः असफल भएको छ । पुनःनिर्माण प्रधाधिकरणभूमिकाबिहीन र निकम्मा सावित भएको छ ।

१०,

निर्वाचन आचारसंहितालाई कुल्चने काम स्वयम् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरुबाट भएको छ । मन्त्रिपरिषदको विस्तार निर्वाचन आचारसंहिताक घनघोर उल्लंघन रहेको तथ्य स्वयम प्रमुख निर्वाचन आयुक्तले स्पष्ट गरिसकेको अवस्था छ । विधिको शासन, मर्यादा र सामाजिक न्यायप्रति प्रधानमन्त्रीमाथि अनेकौं प्रश्न उब्जाइएको छ ।

११,

लोकतान्त्रिक मूल्य, मान्यताविपरीत जसरी पनि आफूलाई सत्ता टिकाउने उद्देश्यले सरकारी कर्मचारीको मनपरी सरुवा, प्रहरी प्रशासन र सेनालाई निरुत्साहित गर्ने काम भएको छ । कुर्सीमा टाँसिने र टिक्नेबाहेक यो अवधिमा देश, जनता, लोकतन्त्र र मूल्य–मान्यताको परिपालना गरेर कुनै काम गर्नसमेत खोजिएको छैन । यो अत्यन्त लज्जाको स्थिति हो ।
समग्रमा शेरबहादुर देउवाको यो हनिमुन अवधि राष्ट्र, जनता र लोकतन्त्रको हितमा काम नगरी सम्पूर्ण रुपमा खेर गएको छ ।