काठमाडौं, २८ भदौ । नेपाल प्रहरीका चर्चित एसएसपी (हालका डीआईजी) रमेश खरेल फेरि एकपटक चर्चामा छन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको चुनावी चहल पहल बढिरहेका बेला पर्सा जिल्लाका बासिन्दाले खरेललाई सम्झिएका हुन् ।
उनीहरुले कालोबजारी, अपराधी सफाया र भ्रष्टाचार नियन्त्रणमा खेलेको भुमिका सम्झिदै पर्साका स्थानीय तहमा त्यस्तै खालको जनप्रतिनिधी आउनुपर्ने विचार व्यक्त गरेका छन् । मतदाता मात्रै होइन् उम्मेदवारले समेत रमेश खरेलको प्रशंसा गर्दै आफूले सुधारका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउन थालेका छन् । रमेश खरेलले एसपी हुँदा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसक्रममा उनले गरेको सुधारलाई जनताले मन पराएका थिए ।
नेकपा एमालेका तर्फबाट वीरगञ्ज महानगरपालिकाका उम्मेदवार बसरुद्दिन अन्सारीले रमेश खरेलको भुमिका सम्झिदै एक जना प्रमुख इमान्दार भए सबै इमान्दार हुने बताए ।
‘अहिले महानगरमा जनप्रतिनिधि छैनन् । यहाँ कार्यकारी अधिकृत बनेर आउने व्यक्ति बाहिरबाट आउँछन् र महानगरपालिकालाई कमाई खाने भाँडो बनाउछन् । वीरगञ्जमा धेरै प्रहरी प्रमुख (एसपी) बनेर आए । तर एक जना एसपी रमेश खरेल आएपछि काला बजारिया, भ्रष्टाचारी, अपराधीहरु किन वीरगञ्ज छाडेर भागे ?’ प्रश्न गर्दै आफ्नो एक अन्तर्वार्तामा अन्सारी भन्छन्– ‘वीरगञ्ज महानगरपालिकालाई कुशल, इमान्दार, पारदर्शी र व्यवस्थापन गर्न सक्ने खुबी भएका व्यक्तित्वको आवश्यकता छ ।’
महानगरपालिकामा हुने प्रशासनिक भ्रष्टाचार नियन्त्रणका लागि तपाईसँग कस्ता योजनाहरु छन् भन्ने प्रश्नमा बसरुद्दिन अन्सारीले यसरी जवाफ दिएः
त्यो ठूलो कुरा होइन । अहिले महानगरमा जनप्रतिनिधि छैनन् । यहाँ कार्यकारी अधिकृत बनेर आउने व्यक्ति बाहिरबाट आउँछन् । उहाँहरु यो महानगरपालिकालाई कमाई खाने भाँडो बनाउनुहुन्छ । जस्को मातृभूमि यहि हो, त्यो व्यक्ति आएपछि बिल्कुलै अन्त हुन्छ । हामी भोजपुरीमा भन्ने गर्दछौं यदि अगाडिको हलो सिधा भयो भने पछाडिको पनि सिधा हुन्छ यसरी प्रमुखले नै भ्रष्टाचार गर्छन् भने अन्य कसरी राम्रो हुन्छन् । वीरगंजमा धेरै प्रहरी प्रमुख (एसपी) बनेर आए । तर एक जना एसपी रमेश खरेल आएपछि काला बजारिया, भ्रष्टाचारी, अपराधीहरु किन वीरगंज छाडेर भागे ?
वीरगंज महानगरपालिकालाई कुशल, इमान्दार, पारदर्शि र व्यवस्थापन गर्न सक्ने खुबी भएका व्यक्तित्वको आवश्यकता रहेको छ । एक जना प्रमुख इमान्दार भएको खण्डमा सबै इमान्दार हुनेछन् । मैले कहि गल्ति गरेको खण्डमा यहि बस्न सक्तिन । मलाई एउटै कुराको मात्रै खाँचो छ त्यो हो ‘नेम एण्ड फेम’ (नाम र प्रसिद्ध) मात्रै । मलाई अन्तिम इच्छा छ मानिस जन्मेपछि मर्नु नै युनिभर्सल टुथ (ब्रम्हाण्डीय वास्तविकता) हो । म मर्नु अगावै मेरो एउटै मिसन छ यो वीरगंज हराभरा, सुन्दर र स्मार्टसिटी बनाउने । भगवानले मलाई जिताएर साथ दिनुहुन्छ म खुदामा विश्वस्त छु । यहाँको जनता जनार्दन माथि म पूर्ण विश्वस्त छु ।

















प्रतिक्रिया