काठमाडौं, २८ भदौ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ ।
नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् ।
यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो ।
अर्काेतर्फ यी दुईदेशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारमा क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन् । एक तथ्याङ्कअनुसार विगत पाँच वर्षमा दुईदेशका बीचमा वार्षिक चार करोड ८० लाख डलर बराबरको व्यापार भएको थियो । गत वर्ष नेपालले करिब ४५ लाख डलरबराबरको सामान पाकिस्तान निर्यात गरेको थियो ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले सो प्रदर्शनीको शुभारम्भ गरे ।
सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताए ।
पाकिस्तानी राजदूत मज्हर जावेदले आजसम्म आफूहरुले नेपालीको अपार माया र बलियो साथ पाएको भन्दै यसको निरन्तरतामा जोड दिए । उनले दक्षिण एसियालाई कटेक्टिभिटीले जोड्नुपर्ने उल्लेख गरे । ‘इस्लामावादमा उठेर, काठमाडौंमा चियाँ खाएर, दिल्लीमा खाना तथा भुटान हुँदै काबुल एकैदिनमा पुग्न सके कस्तो होला ? यसका लागि कनेक्टीभिटी नै एकमात्र सञ्जाल हो,’ उनले भने– ‘अर्काेतर्फ हाम्रो संस्कृति मिल्छ, पहिरन, भेषभुषा, भाषा सबै मिल्छ । त्यसकारण हामी जोडिनुपर्छ, क्षेत्रीय विकास अगाडि बढाउनुपर्छ ।’
कार्यक्रममा सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले व्यापार प्रवर्द्धनलाई बढाउनुपर्नेमा जोड दिए ।
विगत आठ वर्षदेखि हरेक वर्ष हुँदै आएको सो प्रदर्शनी सात दिन जारी रहनेछ । नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशमशेर राणालगायतले प्रदर्शनी सफलताको कामना गरेका छन् ।



















प्रतिक्रिया