काठमाडौं, २८ भदौ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरूको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरूले भोजभतेर गरेर चुनावी प्रचार प्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।
उनले भने, ‘चुनावमा उम्मेदवारले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ । अहिलेसम्म हामीले कुनै प्रमाण फेलापारेका छैनौं । फोटोसहित प्रमाण दिनुहुन्छ भने कारबाही गर्छौं ।’
उनले मधेसमा अहिले सामाजिक–साँस्कृति पर्व चलिरहेकाले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने बताए ।
निर्वाचन आचार संहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमा आयोगको पूर्णध्यानाकार्षण भएको भन्दै यादवले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने बताए ।
‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यती हो’, उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, यसको मतलव यो होइन कि आयोग निरीह भने छैन ।’











प्रतिक्रिया