१० मंसिर २०८३, बिहिबार

राजीनामा दिँदै डीआइजी सिलवालले के भने ? (यस्तो छ हृदयविदारक विज्ञप्ति)

181.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतबाट मुद्दा हारेपछि सिलवालले मंगलबार साँझ पदबाट राजीनामाकोा घोषणा गरेका छन् । आफूले न्यायका लागि लडाईं लडेको भन्दै उनले सहयोग र शुभेच्छा जनाउने सबैलाई धन्यवाद पनि दिएका छन् ।

‘प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भीर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुद्ध विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ’, विज्ञप्तिमा सिलवालले भनेका छन् – ‘जतिसुकै ठूलामान्छे वा शक्तिशाली वा लोकप्रिय किन नहुन्, प्रहरीको सम्वन्धमा कानूनसंगत व्यवसायिक र संयमित रहनुपर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोशिस गर्दागर्दै स्वयम् म र मेरो प्रयास यसको शिकार हुन पुगेको महसुस गरेको छु ।’

यस्तो छ सिलवालको हृदयबिदारक विज्ञप्ति

आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरु,

न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानूनी लडाइको आज अन्त भएको छ । मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाको लागि थियो । असल शासन ब्यबस्थाको लागि थियो । यो लडाईं प्रहरी संगठन उपर हुने राजनीतिक हस्तक्षेप र स्वच्छाचारितालाई दुरुत्साहन गर्नका लागि थियो । अन्यायमाथि न्यायको बिजयका लागि थियो ।

यो व्यवसायिक हकहितका लागि लडिएको न्यायको लडाईं थियो । यसलाई विशुद्ध व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सीमित गरिनुपर्नेमा यसलाई विषयान्तर गर्ने कोशिषतहरु भए र म मुकदर्शकको रुममा पीडाबोध गरिरहें । एउटा सिपाहीको लागि सत्तामा वस्नेले दिएको कानुन बमोजिमको आदेशको पालना गर्नुको विकल्प हुँदैन । त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जोसुकै होस्, उसको कानुनको अख्तियारी मात्र महत्वको हुन्छ । ऊ कुन दलको हो भन्ने थप खोजवीन गर्नु आवश्यक हुदैन ।

नेपालको राजनीतिक परिदृश्यमा लगभग सबैले आलोपालो गरेकै हुन । प्रहरीले सत्तामा रहेकाको कानून बमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनी नगरे जस्तै आज्ञापालन गर्ने प्रहरीसँग कुन दलसँगको निकटत छ वा छैन भनी हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुँदैन । एउटा सिपाहीको लागि राजनीतिको सर्वोत्कृष्ट अभिव्यक्ति भनेको कानून नै हो ।

राजनीतिक प्रक्रियाबाट बनेको कानून बमोजिम काम हुन्छ भने राजनीतिक निर्णयको पालना भनेको त्यही नै हो । सोदेखि बाहेक व्यक्ति पिच्छेको आकांक्षा स्वार्थ वा दम्भको शिकार प्रहरीलाई बनाउन सकिँदैन । प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन । कानूनलाई नै बायाँ हातको खेल बनाउनेहरुबाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्यादित रहन सक्दैन ।

प्रहरी संगठन वा प्रहरी अनुसासन माथि बलात कुनै दुष्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ । राजनीतिक दल र निर्वाचन जस्ता प्रक्रियाहरु मात्र प्रजातन्त्र टिकाउने आधारहरु हुँदैनन, कानून र कानूनका पहरेदार प्रहरी संगठन जस्ता राज्यका अंगहरु पनि प्रजातन्त्रका आधारभूत शर्तहरु हुन्छन् । त्यसैले प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भीर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुद्ध विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ ।

जतिसुकै ठूलामान्छे वा शक्तिशाली वा लोकप्रिय किन नहुन्, प्रहरीको सम्वन्धमा कानूनसंगत व्यवसायिक र संयमित रहनुपर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोशिस गर्दागर्दै स्वयम् म र मेरो प्रयास यसको शिकार हुन पुगेको महसुस गरेको छु । म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस्, मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस भन्ने कामना व्यक्त गर्दछु ।

मैले मेरो जीबनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएँ । यस दौरान मैले अन्यायमा परेकाहरुलाई न्याय दिलाउन र पीडामा परेकाहरुलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरेकोे छु । प्रणालीको बिकासमा समय खर्चेको छु । कानूनको शासन लागू गर्न मेहनत गरेको छु । अन्याय र अत्याचारको बिरुद्दमा राज्यले गर्नुपर्ने जिम्मेवारीका उदाहरणहरु प्रस्तुत गर्ने प्रयास गरेकोे छु । मैले हरेक कठीन समयहरुमा स्वदेश र विदेशमा बसेर गरेका कामहरुले मानिसहरुको मन सिञ्चित गरेको छ । र, त्यो आत्मसन्तोष मलाई संधै प्राप्त छ ।

म नेपाल प्रहरीका अनुशाशित, कर्मठ सदस्यहरु लगायत समस्त देशभक्त न्याय प्रेमीहरुलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् । प्रहरी सँगठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानूनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको शाख पनि यसैसँग जोडिएको छ । हस्तक्षेपरहित ढँगले कार्य गर्न पाए मात्र कानुनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षतिवाट जोगाउन सकिन्छ ।

म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरुलाई किन्चित पनि बिचलित नभई प्रहरीको व्यावसायिकताको सम्वर्धनमा लाग्न अनुरोध गर्दछु । प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन । झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याड्कन गर्ने नै हुँदा म सबै साथीहरुलाई निराश नभई मुलुकप्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु । र, यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नै छोडि दिनु उचित ठान्छु ।

भोलि म जुनसुकै भूमिकामा रहेपनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगी भूमिकामा रहनेछु । यस उद्देश्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु । इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदो रहेछ भनेर नेपाल प्रहरीका सकल दर्जा हतोत्साहित नबनून । एक जना कर्तब्यपरायण सिपाहीमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निदहराम हुँदो रहेछ र उनीहरु जनताबाट दण्डित हुनुपर्दो रहेछ ।

प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यबस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पीडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा बुझ्दा अझ सहज हुन्छ । यो लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको बर्बादी, साधन स्रोतको क्षति, न्यायालयमाथिको राजनैतिक आक्रमणबाट न्यायप्रेमीहरुमा पर्न गएको आघात दुःखद छन् ।

स्थापित मूल्य मान्यतामाथि धावा बोल्ने र कानूनको शासनमा बिश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरित्रका शासकहरुको शिकार कोही पनि देशभक्त नेपालीले हुनु नपरोस् । मेरो इश्वरसँग प्रार्थना छ, यस्तो नियति अरु कुनै पनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पनासम्म पनि गर्नु नपरोस् ।

न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्याय प्रेमी देश भित्र र बाहिरका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु, पत्रकार मित्रहरु, स्वयमसेवकको रुपमा बहस पैरवी गरी सहयोग गर्नुु हुने कानुन व्यवसायीहरु, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरु र प्रहरी संगठनभित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरुप्रति तपाईंहरुको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मुलुकका लागि इमान्दारितापूर्वक काम गर्नुको गौरव जीवनको सवैभन्दा मूल्यवान पदवी भएको मेरो अनुभवले मलाई सिकाएको छ ।

जसरी पनि पद हासिल गर्ने र आफ्नो स्वाभिमानलाई गिराउन तयार हुने परिपाटीको अन्त्य गर्ने तर्फको मेरो लडाईंले आउँदा दिनहरुका लागि एउटा बाटो कोरेको मैले महसुस गरेको छु । बाँकी आन्तरिक षढयन्त्रका अपत्यारिला कडीहरुको विवरण म इतिहासको जिम्मामा छोड्न चाहन्छु । मैले जीवनभर पहिला आफै कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन नै ।

अन्तमा, आज म अन्यायमा पर्दा पनि संयमित छु । फगत म प्रहरी संगठनको महानिरिक्षक हुन सकिन तापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीहरुले देखाएको सदभाव र मायाले मलाई त्यो भन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु। म निवृत्त भए पनि मेरो प्रहरी मन कहिल्यै निबृत्त हुने छैन् । जनताका सबै सुखदुखका प्रहरहरुमा म संधै संगै रहनेछु ।

नेपाली जनताको निशान्त जुन सुभेच्क्षा र सदभाव यो सम्पूर्ण प्रकृयामा जसरी निरन्तर प्राप्त गरिरहें, त्यसको लागि नेपाली जनतालाई नमन गर्दै म आफ्नो कृतज्ञता व्यक्त गर्दछु ।

आउँदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहनेछु । अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदोरहेछ भन्ने अनुभुतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरुको एउटा शसक्त आवाज बन्ने कोशिस गर्नेछु । आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद !

जय नेपाल !

नवराज सिलवाल
२०७४ भाद्र २७ गते