इलाम, २५ भदौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलाममा विपी कोइरालाको तस्वीरलाई विवाद भएको छ ।
इलामको रोङ गाउँपालिकाको प्रथम गाउँसभा कार्यक्रममा प्रयोग गरिएको ब्यानरमा नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको तस्वीर प्रयोग गरेपछि विवाद भएको हो ।
गाउँपालिका कुनै पार्टीको कार्यालय नभएको र सबै पार्टी र जनताको साझा हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विपीको तस्वीरमा आपत्ति जनाउँदै गाउँसभा नै अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
एमालेको शनिबार बसेको रोङ गाउँपालिका संसदीय दलको बैठकले कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष समशेर राईले नियोजित रूपमा आफ्नो दलका नेताको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेकोमा आपत्ति जनाउँदै तस्वीर नहटाए गाउँसभा बहिष्कार गर्ने चेतावनी दिएको हो ।
एमालेले ब्यानरमा मितिसमेत नराखेकाले गाउँसभा नै नियोजित रूपमा सञ्चालन गर्न खोजेको आरोप समेत लगाएको छ । ‘गाउँका सम्पूर्ण जनप्रतिनिधिको भेला बोलाइ आत्मआलोचना गर्न र ब्यानर सच्याउन अध्यक्षसँग हामी माग गर्दछौं,’ एमाले गाउँपालिका संसदीय दलका नेता युवराज राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अन्यथा हामी सशक्त प्रतिवादमा उत्रिन बाध्य हुनेछौं ।’
रोङ गाउँपालिकाका अध्यक्ष समशेर राई र उपाध्यक्ष चन्द्रकला राई दुवै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।











प्रतिक्रिया