डोटी, २५ भदौ । डोटी जिल्लाको दुर्गम क्षेत्र मानिने सायल गाउँपालिकामा रहेको डौड इलाका स्वास्थ्य चौकीका एक कर्मचारीको विदाइमा दुई तोला सुनको सिक्री उपहार दिइएको छ ।
स्वास्थ्यचौकीमा करिब २० वर्ष सेवा गरी अनिवार्य अवकाश पाउन लागेका जनस्वास्थ्य निरीक्षक शिवशंकर रावतलाई साविकको डौड गाउँ विकास समितिको तर्फबाट १ लाख २० हजारको सुनको सिक्री प्रदान गरिएको हो ।
शनिबार आयोजित सायल गाउँपालिकाको प्रथम गाउँ सभाको अवसरमा सो गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर सिंहले रावतलाई सिक्री पहिराएका हुन् ।
उनलाई एमालेका सांसद प्रेम आले मगर, एमाले डोटीका अध्यक्ष चक्र मल्ल, गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल लगायतले अविर–मालाले सम्मान गरेका थिए ।
साविकको संरचनामा रावत डौड इलाका स्वास्थ्य चौकी इञ्चार्ज थिए । धनुषा जिल्लाको साविकको बागचौरा–५ अर्थात हालको हंसपुर गाउँपालिकामा वि.सं. २०१४ असोज १ गते जन्मिएका रावत २०५५ सालदेखि डौड इलाका स्वास्थ्य चौकीमा कार्यरत छन् ।
२०३७ साल वैशाख १५ गतेबाट जागिर प्रारम्भ गरेका रावतले २०३९ माघमा स्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश पाएका थिए । उनी आगामी असोज १ गतेबाट अनिवार्य अवकाश पाउन लागेका छन् ।
दुर्गममा रहेर निरन्तर रुपमा जनतालाई सेवा दिएकाले साविकको डौड गाविसको गाउँ परिषदबाटै उनलाई सुनको सिक्री प्रदान गर्ने निर्णय गरेको कार्यकारी अधिकृत लालबहादुर बोगटीले बताए ।












प्रतिक्रिया