१ कार्तिक २०८३, आइतबार

यूकेमा ‘थेम्सका काव्यिक छालहरू’ को विमोचन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उलविच, लण्डन । साहित्य चौतारी – यूकेले आफ्नो वार्षिक श्रृङ्खलाको अवसर पारेर आयोजना गरेको एक समारोहका बीच ‘थेम्सका काव्यिक छालहरू’ नामक काव्य सङ्गालोको विमोचन समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपालका राजदूत एवम् बरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीले गरेका छन् ।

साहित्य चौतारी – यूकेका संयोजक वासु शर्माको सभापतित्वमा सञ्चालित उक्त समारोहमा हाल बेलायतको निजी भ्रमणमा रहेका बरिष्ठ साहित्यकार एवम् भाषाविद् प्राज्ञ मुकुन्द शरण उपाध्याय, बरिष्ठ साहित्यकार घनेन्द्र शर्मा न्यौपाने तथा बरिष्ठ साहित्यकार कृष्ण पहारी विशेष अतिथिहरुका रुपमा सहभागी रहेका थिए । कवि दिनेश पौड्यालद्वारा रोचक एवम् कुशल ढङ्गले सञ्चालित सो समारोहमा विमोचित ग्रथका सहभागी कविहरूका साथै विभिन्न साहित्यिक संघ संस्थाका अध्यक्ष एवम् सदस्यहरु र अन्य साहित्यकार औ साहित्यानुरागीहरु समेत गरी करीब ५० जना जतिको उपस्थिति रहेको थियो ।

साहित्य चौतारी – यूकेका लागि गोर्खा पब्लिकेशन्स्, काठमाडौंद्वारा प्रकाशित ‘थेम्सका काव्यिक छालहरु’ मा साहित्य चौतारी – यूके र साहित्य संगम – यूके मा आवद्ध ३५ कविहरु र ३ जना अतिथि कविहरुको समेत गरी ७ दर्जन कविताहरु समावेश छन् ।

विमोचित ग्रन्थका बारेमा प्राज्ञ मुकुन्द शरण उपाध्यायले संक्षिप्त समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुका साथै आफ्नो एउटा मिठो छन्द कविता समेत वाचन गरेका थिए । त्यसै गरी अन्य विशेष अतिथिहरु सहित करीब डेढ दर्जन जति कविहरुले आ–आफ्ना मन्तव्य राख्नुका साथै कविता वाचन गर्दा समारोह कक्ष जीवन्त रुपमा काव्यमय बनेको थियो ।

मन्तव्य दिने र कविता वाचन गर्ने कविहरुमा मुकुन्द शरण उपाध्याय, कृष्ण पहारी, घनेन्द्र शर्मा न्यौपाने, खगेन्द्र नेपाली, विनोद अधिकारी, विनोद न्यौपाने, प्रतिमा केसी, गीता खरेल, डा. बच्चु कैलाश कैनी, डा. रुपक श्रेष्ठ, सञ्जु देउजा, डा. कृष्ण उपाध्याय, ओमकार अधिकारी, निर्मला न्यौपाने, गोपाल शाही पथिक, विजय हितान, दुर्गा प्रसाद पोखरेल, दिनेश पौड्याल र वासु शर्मा थिए ।

समारोहका सभापति वासु शर्माले साहित्य चौतारी – यूकेका बारेमा प्रकाश पार्दै भने, ‘साहित्य चौतारी – यूके एक अनौपचारिक समूह हो र यसको कुनै सांगठनिक संरचना छैन ।’

हरेक महिना एक दिन एकाध घण्टा स्रष्टाहरु भेला हुने, आ–आफ्ना रचना वाचन गर्ने र अन्य सहभागी स्रष्टाहरुबाट प्रतिकृया लिने गरिन्छ । मूलतः यसका ३ वटा उद्देश्य रहेकाछन् ।

वाचन गरिएका सिर्जनाहरुलाई आवश्यक परेमा सबैको सहयोगले सुधार गर्ने, बेलाबखतमा विज्ञहरुद्वारा प्रशिक्षण सत्र सञ्चालन गर्ने र प्रकाशन सहयोग गर्ने । पहिलो र दोश्रो उद्देश्यहरु नियमित रुपमा हुँदै आइरहेका छन् भने प्रकाशन सहयोगको उद्देश्य प्राप्ति तर्पmको पहिलो पाइला हो – थेम्सका काव्यिक छालहरु’ । सो अवसरमा शर्माले दुईवटा महत्वपूर्ण घोषणाहरु समेत गर्नुभयो । पहिलो, विमोचित ग्रन्थको विक्री वितरणबाट प्राप्त रकम नेपाली दूतावास मार्फत हालै नेपालमा गएको बाढी पहिरोबाट पीडितहरुका लागि प्रदान गर्ने र दोश्रो, आगामी एक वर्ष भित्र नेटवर्क लाइब्रेरी सञ्चालन गर्न थाल्ने ।

विमोचन मन्तव्य दिंदै समारोहका प्रमुख अतिथि एवम् बरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीले साहित्य चौतारी – यूकेको विशिष्ट कार्यशैलीसंग आफू प्रभावित भएको र विमोचित ग्रन्थ थेम्सका काव्यिक छालहरु यसको एउटा महत्वपूर्ण काम भएको कुरा बताए । आफ्नो मन्तव्यको क्रममा उनले नेपाली साहित्यको विभिन्न कालखण्डहरुको संक्षिप्त चर्चा गर्दै प्रवासमा रहेर स्रष्टाहरुले नेपाली भाषा साहित्यको संरक्षण संवद्र्धनमा खेलेको भूमिकाको प्रसंशा गरे ।

विमोचित ग्रन्थको बिक्रीबाट प्राप्त रकम बाढी पीडितहरुलाई प्रदान गर्ने र नेटवर्क लाइब्रेरी सञ्चालनमा ल्याउने साहित्य चौतारी – यूकेको योजनाहरुको सह्राहना गर्नुका साथै आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

बिहान ११ बजे देखि उलविच लाइब्रेरीको सभाकक्षमा सञ्चालित कार्यक्रममा उलविच लाइब्रेरीका मेनेजर टोनी मेरियोनले अतिथि एवम् सहभागीहरुलाई स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम समापन पछि सहभागीहरुले निर्धारित समयमै कार्यक्रम शुरु गरेर साहित्य चौतारी – यूकेले एउटा उदाहरण प्रस्तुत गरेको र व्यवस्थित रुपमा आयोजकहरुले कार्यक्रम सञ्चालन गरेको प्रतिक्रिया दिएका थिए ।