४ कार्तिक २०८३, बुधबार

भारतसित पुलको कनेक्टिभिटी आवश्यक छ: निरञ्जन प्रसाद भट्ट (अन्तर्वार्ता)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्माण व्यवसायी महासंघ कञ्चनपुरका कार्यबाहक निरञ्जन प्रसाद भट्टसँग विकास निर्माण, व्यवसायीको भुमिका र समृद्धिबारे गरिएको कुराकानी:

– महाकाली नदीमा चार लेनको पक्की पुलको शिलान्यास गरिएको छ, निर्माण व्यवसायीले यसलाई कसरी हेरेका छन् ?

वस्तवमै यसका लागि नेपाल सरकारलाई धन्यवाद दिनु पर्छ । यसले गर्दा महेन्द्रनगर, कञ्चनपुरलाई मात्रै नभएर सिङ्गो सुदूरपश्चिम सहित मुलुकको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । महाकाली पुल बनेपछि दोधारा चाँदनीका वासिन्दालाई सदरमुकाम आउनजान सजिलो त हुने नै छ । अहिलेसम्म त्यहाँका वासिन्दाले सहज रुपमा सदरमुकाम आउन पाएका छैनन् । महाकालीमा पक्की पुलको माग यहाँका वासिन्दासंगै निर्माण व्यवसायीको पनि हो । सरकारले यहाँको वासिन्दाको मागलाई स्वीकार गरी पुल निर्माण कार्य अघि बढाएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छौ ।

–महाकालीमा पक्की पुल निर्माणका लागि निर्माण व्यवसायी संघको भूमिका चाहिँ के रह्यो त ?

पुल निर्माणको माग यहाँका सबै वासिन्दाको हो । यहाँका उद्यमी व्यवसायी, निर्माण व्यवसायी सहित विभिन्न संघसंस्थाहरुले पुल निर्माणको माग गर्दै आएका थिए । यसमा पनि हामी निर्माण व्यवसायी भएकाले पुल निर्माण हामीहरुको पेशासंग सम्बन्धित भएकाले यसको लागि संघले आफ्नो तर्फबाट सक्ने पहल गरेको थियो । संघले पुलका लागि जिल्ला स्तरमा राजनीतिक दलहरुलाई दबाव दिनुका साथै तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकज्यूलाई ज्ञापन पत्र बुझाएर पुल निर्माणका लागि दबाव दिएको जानकारी गराउन चाहन्छौ । यसैगरी उद्योग बाणिज्य संघ लगायतका व्यवसायिक संस्थाहरुले पुल सहित जिल्लाका अन्य विकास सम्बन्धी गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्यौ । सबै क्षेत्रको पहल र दबावपछि महाकाली नदीमा पक्की पुल निर्माण हुन लागेको छ ।

–यो पुलले सुदूरपश्चिम र देशको आर्थिक विकासमा टेवा पुग्ने प्रचार गरिएको छ, के साँच्चिकै पुल बनेपछि सुदूरपश्चिम धनी बन्छ त ?

महाकाली नदीमा पुल निर्माणले सुदूरपश्चिम सहित देशकै विकासमा टेवा पुग्ने आशा गरिएको छ । पुल शिलान्यास कार्यक्रममा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले पनि सुदूरपश्चिमको विकासमा टेवा पुग्ने विश्वास दिलाउनु भएको छ । वास्तवमा भन्नु पर्दा पुल बन्ने बित्तिक्कै विकास आफैं आउने होइन । पुल भनेको विकासको पूर्वाधार हो । महाकालीमा चार लेनको पुल बनेपछि भारतसित व्यापार व्यवसाय बढेपछि हाम्रोतिर पनि आर्थिक विकास बढ्ने हो । अहिले पुल बन्दैछ । पुलसंगै भारतसंग व्यापार व्यवसाय बढाउने गतिविधि पनि गरिनु पर्छ । त्यसका लागि पुलको भारतसंग कनेक्सन जोडेर पुललाई पारवाहन नाका बनाउन आवश्यक छ । तब मात्रै आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।

–अहिले त पुल निर्माण र गड्डाचौकीदेखि दोधारा चाँदनीको भारतीय सीमासम्म मात्रै सडक पुगाउने योजना छ, भारतसित खासै कनेक्टिभिटीको कुरा पनि भएको छैन भन्ने सुनिन्छ, यसले पुलबाट धेरै आर्थिक फाइदा लिन सकिने अवस्था त देखिदैन नि ?

हो, भारतसित कनेक्टिभिटी विनाको पुल भएपछि यसबाट सोचे जति आर्थिक लाभ लिन सकिने अवस्था छैन । यसका लागि राज्य गम्भीर हुनु जरुरी छ । भारतसित पुलको कनेक्टिभिटी नभएसम्म पुलबाट दोधारा चाँदनीसम्म आवतजावत गर्न मात्रै फाइदा हुन्छ । सुदूरपश्चिमका वासिन्दाले भारतसित कनेक्टिभिटी सहितको पुललाई ७ नं. प्रदेशको पारवाहन नाका बनाउने हो । पारवाहन नाका बनाएर मात्रै पुल सञ्चालनमा भएपछि आर्थिक विकास सुरु हुन्छ । सरकारले अर्बौ लगानीमा पुल बनाई रहेको छ । यो पुललाई दुर दृष्टि राखेर बनाउन जरुरी छ । सरकारले जसरी पुल शिलान्यास गरी निर्माण कार्य अघि बढाएको छ , त्यसैगरी भारतसितको कनेक्टिभिटी र यस नाकालाई पारवाहन नाका बनाउने तयारीलाई तदारुकताका साथ अघि बढाउन जरुरी छ ।

–यो पुल निर्माण कार्य तीन वर्षमा सक्ने सम्झौता गरिएको छ, जिल्लामा अधिकाँश ठेक्का समयमा सम्पन्न हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा यो चार लेनको पुल निर्माण व्यवसायीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने अवस्था छ त ?

विकास निर्माण कार्यमा कञ्चनपुरमा पर्याप्त बजेट आएको छ । यो निर्माण व्यवसायीका लागि खुसीको कुरा हो । झन महाकालीमा अर्बौ लगानीको पुल नै निर्माण हुन लागेपछि यस क्षेत्रका व्यवसायी खसी छौ । यसका साथ साथै जिल्लामा व्यवसायीहरुलाई केही समस्याहरु पनि छन् । तोकिएको समयमा निर्माण कार्य पूरा गर्न नसक्ने अवस्था छ । यसको मुख्य समस्या निर्माण सामग्रीहरुको अभाव हो । जिल्लामा पर्याप्त क्रसर उद्योग नभएकाले विकास निर्माणलाई प्रभावित गरेको छ । क्रसर उद्योग स्थापना गरी व्यवसायीलाई निर्माण सामग्रीको अभावबाट मुक्ति दिलाउन सरकारसंग पटक पटक माग गर्दै आएका छौ । यसका लागि भौतिक पूर्वाधार मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छौ । जहाँसम्म महाकालीमा पुल निर्माणको कुरा छ, यो तोकिएको समयमा पूरा हुने विश्वास लिएका छौ ।

–अन्त्यमा पुलसंगै जोडिएको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहको कुरा पनि छ, यसमा निर्माण व्यवसायी संघको धारणा चाहिँ के हो ?

महाकाली पुल बनेर मात्रै आर्थिक क्रान्ति सफल हुँदैन । यसका लागि भारतसित कनेक्टिभिटी र सुख्खा बन्दरगाह बन्नु जरुरी छ । पुल र सुख्खा बन्दरगाह एक अर्काका पर्याय हुन् । सुदूरपश्चिमका वासिन्दाले पनि पुल र बन्दरगाह बन्नु पर्ने माग गर्दै आएका हुन् । सुख्खा बन्दरगाहको कुरा २०६६ सालदेखि चर्चामा आएको हो । यो क्षेत्र हेर्न प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरुले स्थलगत निरीक्षण समेत गरि सकेका छन् । तै पनि सुख्खा बन्दरगाह कहिले बन्ने हो भन्ने कुरा टुङ्गो लाग्न सकेको छैन । अब यसको पनि छिटो टुङ्गो लगाएर जानु पर्छ । पुल र बन्दरगाह एकसाथ सञ्चालन हुन पर्ने माग गर्दछौ । संघले वर्तमान वाणिज्य राज्यमन्त्री नर बहादुर चन्दलाई समेत छिटोछिटो सुख्खा बन्दरगाह सञ्चालनका लागि ज्ञापन पत्र दिएका छौ । यसका साथै समस्त दाजु भाई बहिनीहरुमा विजयादशी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु ।