– कमलराज भट्ट
काठमाडौं, २० भदौ । नेपाल प्रहरीले सोमबार राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन समातेपछि यो घटनाले राज्य संयन्त्रमा निकै ठूलो तरंग ल्याएको छ । नेपालको इतिहासमै पहिलोपटक यति ठूलो परिमाणमा सुन समातिएको यो पहिलोपटक हो । नेपाल–चीन नाका केरुङबाट आइतबार भित्रिएको ४३ करोड रुपैयाँ बराबरको सुनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा सोमबार विहानै अपराध महाशाखाको टोलीले नियन्त्रणमा लियो । साथसाथै चालक मनोज अधिकारीलाई पनि पक्राउ गर्यो । हिरासतमा राखेर चालक अधिकारीमाथि सोधपुछ गर्दा उक्त सुन चिनियाँ नागरिकको भएको खुल्यो । चिनियाँ दम्पत्ती वान विई मिङ (पति) र याङ वेन विङ (पत्नी)ले काठमाडौँको क्षेत्रपाटीमा होटल सञ्चालन गरेर वर्षाैदेखि चीनबाट नेपाल ट्रान्जिट बनाई भारतमा सुन तस्करी गर्दै आएको खुल्यो । र, अहिले समातिएको सुनका मालिक पनि उनीहरु नै रहेको पाइयो ।
सुन समात्ने ४ प्रहरी ‘हिरो’
राज्य संयन्त्र नै हल्लाउनेगरी यति ठूलो परिमाणमा सुन समात्नेमा नेपाल प्रहरीका चार अधिकृतको मुख्य भुमिका रहेको छ । त्यसमा पनि आईजीपी नियुक्त भई विभिन्न विवादले एआईजीमा चित्त बुझाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रमुख एआईजी जयबहादुर चन्दको भूमिका अझ महत्वपूर्ण छ । उनकै संयोजन र निर्देशनमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवश लोहनी, अपरेशन कमाण्डर एसपी नरेन्द्र उप्रेती र फिल्ड कमाण्डर डीएसपी प्रजित केसी सुन समात्न सफल भए । त्यतिमात्रै होइन्, सुनकाण्डको घटनापछि सँधै सोधिने एउटै जबाफ हुन्थ्यो – सुन तस्करका मालिक को हुन ? भनेर । तर, उनीहरुले सुन तस्करीका मालिक पनि पत्ता लगाए ।
एआइजी चन्दले यो घटनाको अनुसन्धान अपराध महाशाखाका प्रमुख एसएसपी दिवस लोहनीलाई सुम्पेका छन् । अनुसन्धानमा एसपी उप्रेती र डीएसपी केसी पनि संलग्न छन् । उनीहरुलाई माथिबाट एआईजी चन्दले पूरा साथ दिइरहेका छन् । ‘मसिनो रुपमा थप अनुसन्धान गरिरहेका छौं, छिट्टै जरासम्म पुग्छौं ।’ एआइजी चन्दले दैनिक नेपालसँग भने- ‘फरार अपराधीलाई फुत्किन नदिन सबैतिर प्रहरी परिचालित भएको छ ।’
कसरी समातियो सुन ?
तीन दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी चन्द र अपराध महाशाखा प्रमुख एसएसपी दिवस लोहनीको मोबाइलमा केरुङबाट ठूलो परिमाणमा गाडीमा सुन काठमाडौं आउँदै गरेको सूचना म्यासेजमार्फत आयो । सुराकीबाट यस्तो सूचना पाएपछि एआईजी चन्दले महाराजगन्ज र लैनचौर वृत्तलाई परिचालन गरे । सुनसहितको गाडी पार्किङ गरिरहेको थप सूचना आएपछि एआईजी चन्दको निर्देशनअनुसार आइतबार राति करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचोरबाट सादा पोसाकको टोली क्षेत्रपाटी पुग्यो । पार्किङ गरिरहेको गाडीमा कोही नदेखिएपछि रातभर चालक वा गाडी मालिकलाई कुरेर बस्यो । उताबाट महानगरीय अपराध महाशाखाले पनि टोली खटाइसकेको थियो । १० बजेदेखि कुरेर बसेको प्रहरीले राति ३ बजेपछि चालक गाडीनजिक आउनेवित्तिकै समात्यो र गाडी नियन्त्रणमा लियो । डीएसपी प्रजित केसीले फिल्ड कमाण्ड सम्हालेका थिए ।
व्यवसायको आडमा विदेशीहरुले नेपालमा कसरी अबैध धन्दा चलाइरहेका छन् भन्ने मात्रै होइन्, चिनियाँ नागरिकहरुको ठूलै सञ्जाल पनि यस्ता तस्करीमा संलग्न भएको प्रहरीले पर्दाफास गर्न सफल भएको छ । किनकी यसअघि अधिकांश नेपाली र भारतीय नागरिकहरु नेपालमा हुने यस्ता अबैध तस्करीमा समातिँदै आएका थिए ।












प्रतिक्रिया