काठमाडौं, १९ भदौ । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ ।
राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो ।
प्राधिकरणले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट विद्युत् खरिद गर्ने र त्यस्तो विद्युत् ‘नेट मिटरिङ’ गर्ने तयारी गरेको हो ।
उपभोक्तालाई आवश्यक परेको समयमा विद्युत् उपलब्ध गराउँदै आएको प्राधिकरणले दिउँसोको समयमा भने सौर्य प्रणालीबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
ऊर्जा संकटकालसम्बन्धी कार्ययोजनाको बुँदा नं ५२ ख मा समेटिएको प्रावधानअनुसार नै राष्ट्रिय प्रसारण लाइन तथा वितरण प्रणाली पुगेका स्थानबाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ ।
विद्युत् बेच्न इच्छुक ग्राहकले सम्बन्धित वितरण केन्द्रसमक्ष सौर्य प्रणालीको क्षमता खुलाई अन्य प्राविधिक विवरण एवं उक्त प्रणालीको सम्पूर्ण जानकारी खुलाइ निवेदन दिनुपर्नेछ ।
प्राधिकरणले आफूले उपलब्ध गराएको र ग्राहकबाट प्राप्त हुने विद्युत्को सम्पूर्ण हिसाब गर्नेछ । त्यसबाट ग्राहकलाई तिर्नुपर्ने भए प्राधिकरणले भुक्तानी गर्नेछ । त्यस्तो भुक्तानीको दर भने आपसी सहमतिमा तय हुनेछ ।
















प्रतिक्रिया