काठमाडौं, १७ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे । उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अतिआवश्यक वस्तुहरुमा मिसावट गर्नेलाई हामी कुनैपनि हालतमा उन्मुक्ति दिँदैनौं, ठूला ठूला उद्योगपतिहरु कालोबजारिया, कृत्रिमअभाव र खाद्यान्नमा मिसावट गरेको भन्ने कुरा थाहा पाएका छौं, अब उनीहरुको नाम हामी छिट्टै सार्वजनिक गर्छौं, र कानुनी दायरामा ल्याएरै छाड्छौं, कडाभन्दा कडा कारवाही गर्छौं ।’
मन्त्री मण्डलले अति आवश्यकीय वस्तुहरुमा घातक कुराहरु मिसावट भएको पाइएकोले आफूहरुले अनुशन्धान र निगरानी बढाईरहेको जानकारी दिए । उनले थपे, ‘स्वस्थ रुपमा बाँच्न पाउने अधिकारमाथि खेलबाड भएको पाईए, हामी जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गरेरै छाड्छौं ।’
मण्डलले अहिले खाद्यान्न आपूर्ति सहज भएको समेत जिकिर गरे । उनले थपे, ‘हामीले सुपथ मुल्यमा हिजोबाट पसलहरुपनि सञ्चालनमा ल्याएका छौं, दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरेर हामीले सुपथ मुल्यका पसलहरु सञ्चालनमा ल्याएका हौं ।’ त्यस्तै उनले यो चाडपर्वसम्म कुनैपनि खाद्यान्नमा वा अतिआवश्यक वस्तुमा मुल्य नबढाउने समेत विश्वास दिलाए ।
‘भ्रष्टाचार गरेको प्रमाणित भए गोपाल खड्कालाई कारबाही गर्छु’
मन्त्री मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै विषय भएकोले प्रमाणित भएमात्रै कारवाही गर्ने बताए ।
उनले भने, ‘अनियमितता गरेको प्रमाणित भएमात्रै कारवाही हुन्छ, अहिले नै मैले केही भन्न मिल्दैन ।’ यद्यपी उनले संसदको सार्वजनिक लेखा समितिमा उक्त विषयबारे केही कैफियत भएको ठहर गर्दै अख्तियारलाई पत्र पठाएको छ तर मन्त्रालयमा बोधार्थ भने आएको आफ्नो जानकारीमा नभएको स्पष्ट पारे ।
उनले आफूले कारवाही नै नगर्ने भनेर कहीँकतै नबोलेको समेत जिकिर गरे । मन्त्री मण्डलले थपे, ‘तथ्य र प्रमाणले दोषी ठहरिए कारवाही हुन्छ, दोषी ठहरिए कारवाही गर्ने कुरामा हामी कुनै हालतमा पनि ‘कम्प्रोमाईज’ गर्दैनौं ।’ उनले मन्त्रालयको तर्फबाट कानुनी कारवाही गर्ने कुरामा आफ्नो कुनै कसर बाँकी नराख्ने वचनबद्धता दोहोर्याए ।
उनले आफूलाई अहिलेसम्म कसैबाटपनि कुनै ‘प्रेसर’ नआएको उल्लेख गर्दै भने, ‘शिवकुमार मण्डल प्रेसरबाट डराउँदैन्, त्यस्तो प्रेसरले मलाई छुनेवाला छैन ।’
जग्गाखरिद प्रकरणको बारेमा समाचार लेखेकै भरमा एक दैनिक पत्रिकालाई ८० करोड क्षतिको माँगदाबीसहित मुद्दा हालेको विषयमा तपाईको धारणा के हो भनि सोधिएको एक प्रश्नमा उनले थपे,‘यो विषयमा मैले बोल्न मिल्दैन, तर मैले जहाँसम्म सुनेको छु एकले अर्कालाई अहिले आरोप लगाएका छन्, उनीहरुको कुरा नै अनुसन्धानको विषय बनेको छ, आयल निगमले आफूले भनेको जग्गा नकिनिदिएकोले समाचार लेखेको हो भनेर दाबी गरेको छ, यो उहाँहरुको बीचको कुरा हो ।’
















प्रतिक्रिया