४ कार्तिक २०८३, बुधबार

लार्चाको बेलिब्रिज निर्माणमा पहिरो बाधक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, १६ भदौ । तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल बगाएपछि बेलिब्रिज निर्माणमा विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा दैनिक जसो भारी वर्षा, माथिबाट ढुंगा खस्ने समस्या र पहिरो खस्ने गरेका कारण यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।

पुलको जग तयार गर्ने क्रममा ठूला ठूला ढुंगा निस्किएको र मेसिनले समेत फोर्न नसकेपछि झण्डै दश दिन लगाएर स्थानीयवासीले घन तथा छिनाद्वारा फुटालेको इञ्जिनियर शीला न्यौपानेले जानकारी दिनुभयो । जग हाल्ने काम बिहीबारबाट शुरु हुने उहाँले बताउनुभयो ।

“दुवैतर्फ जगमा कडा चट्टानले अवरोध नपु-याएको भए बेलिब्रिज जडान गर्न १५\२० दिनभन्दा बढी लाग्दैनथ्यो,” न्यौपानेले भन्नुभयो– “जस्तै अवरोध आए पनि दसैं अगाडि काम सक्ने लक्ष्य लिएका छौँ ।”

दैनिक पानी परिरहेकोले माथिबाट ढुंगा खस्ने समस्यालाई समेत झेल्दै जोखिमपूर्ण तरिकाले काम गरिरहेको र बगाएको सडकलाई समेत बनाएर यातायात खुलाउने काम भइरहेको इञ्जिनियर न्यौपानेले बताउनुभयो ।

सो स्थानमा पुग्न अरनिको राजमार्गको विभिन्न ठाउँमा गएको पहिरोको सामना गर्नुपर्ने हुन्छ ।    गएको साउन आठ गते चट्टानसहितको पहिरोले ७० मिटर लामो फुल्पिङकट्टीको र तातोपानी जोड्ने भोटेकोशी नदीको पक्की पुल बगाएको थियो ।

विसं २०३८ मा बाढीले बगाएपछि करिब दुई वर्षपछि सोही स्थानमा चीन सरकारले पुल निर्माण गरेको हो । तातोपानी नाका जोड्ने उक्त पुल बगाएपछि त्यहाँका करिब दुई हजार ५०० भन्दा बढी परिवारले सास्ती व्यहोर्नु परेको थियो ।

हाल त्यहाँ तुइनको साथै फलामे फड्के समेत राखिएको छ । सो ठाउँमा ७० मिटर लामो बेलिब्रिज राख्नुपर्ने भए पनि बाहिरबाट झिकाउन समय लाग्ने हुँदा सडक विभागसँग मौज्दात रहेको ५० मिटर मात्र लामो बेलिब्रिज राख्न लागिएको बताइएको छ । रासस