काठमाडौं, १४ भदौ । नेपाल प्रहरीमा सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको दरबन्दी खारेज गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज विहान बसेको मन्त्रिपरिषद बैठकले एसएसपीको दरबन्दी खारेज गरी प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदको दरबन्दी बढाउने गृह मन्त्रालयको प्रस्तावमा छलफल अगाडि बढाएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
गृहमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत प्रस्तावमा केही एसएसपीको दरबन्दी खारेज गरी डीआईजीको दरबन्दी सिर्जना गर्ने उल्लेख छ । यो प्रस्तावमा आज छलफल भएको र आगामी बैठकले निर्णयले लिने सञ्चारमन्त्री बस्नेतले बताए ।
यसैगरी बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथी पदमा पदोन्नति गर्ने निर्णय गरेको छ ।
बैठकले अनुसन्धान निर्देशक पदमा हुतराज थापालगायत तीन जनालाई बढुवा गरेको छ ।












प्रतिक्रिया