
– रञ्जित लामा
पुनर्वास, १३ भदौ । कञ्चनपुर जिल्ला यतिखेर एकाएक अशान्त बन्दै गएको छ । २३ दिनमै श्रृङ्खलाबद्धरुपमा ५ जनाको हत्या भएपछि यतिखेर कञ्चनपुर एकाएक अशान्त बन्दै गएको हो ।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिका–९, ख गाउँमा एक जनाको हत्या भएको अवस्थामा शब फेला परेको छ । सोमबार बिहान पुनर्वास नगरपालिका–९ कै नालामा ३० वर्षीय सुर्जे सार्कीको शब रक्ताम्मे अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय पुनर्वासका इन्चार्ज प्रहरी निरीक्षक दलराम टमाटाले मृत अवस्थामा भेटिएका सार्कीको प्रारम्भिक अनुसन्धान भईरहेको बताए ।
हत्या या भवितव्य के हो ? भन्ने बारेमा प्रहरीले छानबिन गरिरहेको समेत इन्चार्ज टमाटाले बताए । सार्कीको शरीर सुनिएको छ भने टाउकोमा रगत बगेको छ । सार्कीको घटना स्थलको मुुचुल्कासँगै पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल लगिएको छ । शवको नजिकै एउटा बाँसको लौरो भेटिएकाले सो लौरो हत्यामा प्रयोग भएको हुनसक्ने प्रहरीले आशंका गरेका छन् । टाउकोमा लौरो प्रहार भएको जस्तो देखिएता पनि चोट पुरानो हो या नयाँ भन्ने बारे पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले बताएको छ ।
परिवारजनले भने हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरेका छन् । पुनर्वासका स्थानीय लाल एस.के.ले सार्कीको परिवार लगायत स्थानीयले कसैले मारेर नालामा फालेको हुनसक्ने आशंका गरेको बताए ।
घटनाको प्रकृतिको हेर्दा आईतबार राती हत्या गरेर फालेको परिवार र स्थानीयको दाबी छ । सार्कीका तीन सन्तान छन् । उनको मृत्युसँगै विपन्न दलित परिवारका बालबालिका विचल्लीमा परेको स्थानीय लाल एस.के.को भनाई छ ।
त्यस्तै, साउन २९ गते आईतबार राती पुनर्वास नगरपालिका–११ भीमबस्ती स्थित लालझाडी सामुदायिक बनउपभोक्ता समिति बन परिसरमा रहेको शिद्धदेवी मन्दिरको आश्रममा बस्दै आएकी धर्मादेवी मल्लको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । दुई कोठाको आश्रममा बिगत चार वर्षदेखि बस्दै आएकी मल्लको शब आश्रमको बरण्डामा रगतले लतपतिएको अवस्थामा फेला परेको थियो । सोको अहिलेसम्म अनुसन्धान टुंगिएको छैन । हत्या किन भयो कस्ले गरेको भन्ने विषयमा जनस्तरमा निक्कै चाँसो र चिन्ता बढ्दै गएपनि प्रहरीले घटना भएको दुई साता बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।
कञ्चनपुरमा २३ दिनदेखि शृङ्खलाबद्धरुपमा हत्या भई रहेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुर नहर नजिकै ढुङ्गाले टाउँको थिचेर २४ वर्षीय सशस्त्र प्रहरी जवान नरबहादुर कुँवरको हत्या गरिएको अवस्थामा गत बिहीबार शब फेला परेको थियो । कुँवरको हत्या उनकै बाल्यकालदेखिकै साथी तथा सहकर्मी सशस्त्र प्रहरी जवान भानबहादुर विष्टले गरेको पुष्टि भइसकेको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा बी.एस.सी. चौथो वर्षमा अध्ययनरत् अखिल क्रान्तिकारीका संयोजक समेत रहेका २५ वर्षीय डम्बरबहादुर जाग्रीको साउन २८ गते शनिबार छात्रावासको स्टोर कक्षमै तरकारी काट्ने दाउले घाँटी रेटि हत्या गरिएको अवस्थामा शब भेटिएको थियो । भने साउन २१ गते भीमदत्त नगरपालिका–९ मटैनाकी १० वर्षीय बालिका शितल विष्टको हत्या गरी खोलामा तैरीरहेको अवस्थामा शब फेला परेको थियो ।
कञ्चनपुरमा एकपछि अर्काे घटना सेलाउँन नपाउँदै हत्याको श्रृङ्खला एकपछि अर्काे गर्दै चुलिदै गएको छ । विगत २३ दिनको अन्तरालमा पाँच जनाको हत्याले कञ्चनपुर यति खेर निक्कै अशान्त बनेको छ ।
“सत्य सेवा सुरक्षणम्” लाई आत्मसात गर्ने नेपाल प्रहरीले अहिलेसम्म बालिका र सशस्त्र प्रहरी हत्याकाण्डको रहस्यालाई मात्र उद्घाटन गर्न सकेका छन् । अपराध अनुसन्धानमा दक्ष कहलिएका नेपाल प्रहरीले यी बाँकीका घटनहरुमा कहिले र कसरी सफलता हासिल गर्लान् त ? भन्ने सवाल यतिखेर निक्कै उत्कर्षमा पुगेको छ । यी रहस्यहरुको जालो नेपाल प्रहरीद्वारा यथाशीघ्र च्यातियोस् ! बस् जनताको यतिखेर यही चाहना छ ।











प्रतिक्रिया