चितवन, १२ भदौ । नेपाली काँग्रेसका नेता गगन थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिने गरी विधेयक संशोधन हुन नदिने बताएका छन् ।
खुमबहादुर खड्कासहित पार्टीका कयौं सांसद चुनाव लड्न पाउनेगरी निर्वाचन विधेयक संशोधन हुनुपर्ने माग गरिरहेका बेला युवा नेता थापाले चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अदालतले तोकेको समय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने पार्टीको कुनै धारणा नरहेको बताए ।
संसद्मा कुनै पनि विधेयक प्रस्तुत हुँदै गर्दा त्यो विधेयकमाथि संशोधन हाल्ने सांसदको वैयक्तिक अधिकार रहेको भन्दै उनले भने, ‘जति पनि सांसदले संशोधन हाल्नु भएको छ त्यो नितान्त उहाँहरुको व्यक्तिगत कुरा हो ।’ उनले चाँडोभन्दा चाँडो विधेयक पारित गर्नुपर्ने बताए ।
विधेयकको दफा १३ (ङ) मा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौज्दारी कसुरमा सजाय पाई वा कुनै कसुरमा २० वर्षभन्दा बढीको सजाय पाई त्यस्तो फैसला भएको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन अयोग्य मानिने व्यवस्था छ ।











प्रतिक्रिया