४ कार्तिक २०८३, बुधबार

झापामा सात करोड ६२ लाख राजश्व संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, १२ भदौ । झापा जल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा कूल रु सात करोड ६८ लाख ६२ हजार ६७० राजश्व संकलन गरेको छ ।

संकलित राजस्वमध्ये हातहतियार नवीकरणमा रु ९४ हजार ३२०, न्यायिक दस्तुरमा रु २० लाख १३ हजार ८००, परीक्षा दस्तुरमा रु नौ हजार २००, अन्य प्रशासनिक सेवा दस्तुरमा रु १० लाख २२ हजार ३५०, राहदानी शुल्कमा रु सात करोड ३६ लाख ९२ हजार ५०० र बेरुजु रु ३० हजार ५०० छन् ।

सोही अवधिमा विदेशमा मरेका १८ जना पुरुषको नेपालमा रहेका निजका हकदारमा रु दुई करोड ६५ लाख ७० हजार २२० क्षतिपूर्ति वितरण गरेको लेखा प्रमुख मणिकुमार दाहालले बताउनुभयो ।

क्षतिपूर्ति रकम सम्बन्धित देशका राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत आएको सो रकम मरेका व्यक्तिका हकदारले जिल्ला प्रशासन कार्यालयबाट क्षतिपूर्तिस्वरुप प्राप्त गरेका हुन् ।

यसैगरी गएको आवको अन्त्यसम्ममा द्वन्द्वकालमा राज्यपक्ष एवं विद्रोही पक्षबाट मारिएका, अपहरणमा परेका, बेपत्ता भएका तथा हिरासतमा रहेका परिवारजनमा रु सात करोड पाँच लाख तथा आगलागी, चट्याङ र बाढीबाट पीडित परिवारमा रु २१ लाख ९१ हजार ४०० क्षतिपूर्ति वितरण गरिएको लेखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको मातहतमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले चालु आवमा बाढीका कारण ज्यान गुमाएका नौ जनामा रु १८ लाख राहत वितरण गरेको छ भने १६ परिवारमा जनही दैनिक खानाका लागि जनही रु ७० का दरले एक महिनाको एकमुष्ट रकम पनि वितरण गरिएको बताइएको छ । रासस