काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले स्थानीय तहको निर्वाचनमा आफूलाई केन्द्रित गराउने निर्णय गरेको छ ।
काठमाडौंको नक्सालमा आइतबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले निर्वाचनको तयारीका लागि वरिष्ठ नेता रामचन्द्र रायको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले निर्वाचनको तयारी गर्ने प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पशुपति शम्शेर राणाले साउन २२ गतेदेखि हालसम्म भएको पार्टी गतिविधि र मुलुकको समसामयिक विषयमा केन्द्रीय सदस्य र सांसदहरूलाई जानकारी दिनुभएको थियो ।
बैठकमा धारणा राख्ने झण्डै दुई दर्जन सांसद र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । उनीहरूले दल दर्ताको एउटा अध्यय समाप्त भइसकेको भन्दै ढुक्क भएर निर्वाचन र संगठन सुदृढीकरणका लागि लाग्न नेतृत्वलाई सुझाव दिएका थिए ।
केन्द्रीय सदस्य सगुन लावतीले बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी एकता र महाधिवेशनका बेला भएको सहमति कार्यान्वयनमा कमल थापा समूहले ध्यान नदिएका कारण नयाँ दल दर्ता गर्नुपरेको बताएका थिए ।
‘अध्यक्ष पशुपति शम्शेर राणाले सबैलाई संगठनमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ’, लावतीले भन्नुभयो, ‘सानातिना कुरामा अब अल्झिनु हुँदैन । सबैको भावना बुझेर अगाडि बढ्न निर्देशन दिनुभएको छ ।’











प्रतिक्रिया