काठमाडौं, १० भदौ । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २१ औँ स्मृति दिवस मनाइएको छ ।
नेपाल महिला संघ काठमाडौँ जिल्लाले आज मङ्गलादेवीको शालिक रहेको ठाँउ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो ।
माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको महिलाहरुको हक, अधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताए । “नेपालमा एकतन्त्रिय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् मंगलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ,”– नेता सिंहले भने ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले दोस्रो संविधानले महिलाहरुलाई जुन किसिमको अधिकार दिएको छ यो महिलाहरुको आन्दोलनका कारण भएको बताए ।
नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाले महिलाको हक अधिकारका लागिमात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मंगलादेवी सिंहको ठूलो भूमिका रहेको बताए ।
नेपाल महिला संघ कि अध्यक्ष उमा अधिकारी ले महिला संघ मंगलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने बताइन् ।
महिलाहरुको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विस २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिलाहरु भेला भई महिला संघको स्थापना गरेका थिए ।












प्रतिक्रिया